गाँजा र ब्राउन सुगरसहित कोशी प्रदेशका विभिन्न स्थानबाट पाँच जना पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
कोशी प्रदेशका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार झापाको गौरादह नगरपालिका–१ का २६ वर्षीय विशाल राई र उमेश राजवंशी ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
यसैगरी, सङ्खुवासभाको खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई प्रहरीले उनको घरमा लुकाइछिपाई राखिएको पाँच किलो १०५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।
त्यस्तै, सुनसरीको दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का जमालउद्दीन मिया र इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।





