समझदारीपछि पनि अमेरिका–इरान भिडन्त जारी, होर्मुजको अवस्थाबारे परस्परविरोधी दाबी

ड्रागन मिडिया समाचार कक्ष
गत महिना समझदारीपत्रमा हस्ताक्षर भए पनि अमेरिका र इरानबीच शनिबारदेखि पुनः शुरु भएको सैन्य भिडन्त जारी छ। दुवै पक्षले रणनीतिक महत्वको होर्मुज जलमार्गको वर्तमान अवस्थाबारे फरक–फरक दाबी गरेका छन्।
अमेरिकी केन्द्रीय कमाण्ड, सेन्टकमले आइतबार इरानविरुद्ध नयाँ चरणको आक्रामक हवाई कारबाही पूरा गरेको जनाएको छ। सेन्टकमका अनुसार अन्तर्राष्ट्रिय पानीजहाजमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर बनाउने उद्देश्यले होर्मुज जलमार्ग आसपासका विभिन्न लक्ष्यमा सटीक हतियार प्रयोग गरिएको थियो।
सेन्टकमका प्रवक्ता टिम हकिन्सले अमेरिकी सेनाले इरानबाट प्रहार गरिएको एउटा क्रुज मिसाइल र एकतर्फी आक्रमणमा प्रयोग हुने ड्रोन रोकेको बताएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण दक्षिणी इरानमा, विशेषगरी होर्मुजगान, खुजेस्तान र सिस्तान–बलुचिस्तान प्रान्त तथा होर्मुज जलमार्ग आसपास केन्द्रित थियो।
इरानको सरकारी प्रेस टीभीले सिरिक, बन्दर अब्बास र जास्क बन्दरगाह क्षेत्रमा विस्फोटको आवाज सुनिएको तथा सिरिक नजिकको एउटा दूरसञ्चार टावरमा आक्रमण भएको जनाएको छ। कतारको अल जजिराले स्थानीय विवरण उद्धृत गर्दै केश्म टापुमा पनि नयाँ विस्फोट सुनिएको उल्लेख गरेको छ।
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार खुजेस्तान प्रान्तको महशहरस्थित कृषि जलपम्प केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु भएको र चार जना घाइते भएका छन्। अर्धसरकारी तस्निम समाचार संस्थाले फारुर टापुमा अमेरिकी आक्रमणबाट एक जनाको मृत्यु र दुई जना घाइते भएको जनाएको छ।
त्यसपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य प्रतिष्ठानविरुद्ध नयाँ चरणको प्रत्याक्रमण शुरु गरेको घोषणा गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर, आईआरजीसीले आफ्नो आधिकारिक सेपाह न्युजमार्फत सोमबार जारी गरेको वक्तव्यमा जोर्डन, बहराइन, कुवेत र ओमानस्थित अमेरिकी सैन्य आधारमा मिसाइल र ड्रोन आक्रमण गरिएको दाबी गरेको छ।
आईआरजीसीका अनुसार जोर्डनस्थित प्रिन्स हसन एयरबेसका मिसाइल भण्डारण क्षेत्र र इन्धन ट्याङ्कीमा आगलागी भएको छ। बहराइनस्थित शेख इसा एयरबेसमा हेलिकोप्टर मर्मत केन्द्र, अमेरिकी पी–८ निगरानी विमान राखिएको ह्यांगर र कमाण्ड केन्द्रलाई निशाना बनाइएको दाबी गरिएको छ।
इरानी पक्षले कुवेतस्थित अमेरिकी आधारमा रहेको इन्धन भण्डार, प्याट्रियट वायु प्रतिरक्षा प्रणाली र एफपीएस राडार संरचना ध्वस्त बनाइएको पनि दाबी गरेको छ। यी सबै क्षतिसम्बन्धी दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
जोर्डनको सेनाले सोमबार बिहान इरानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका चार मिसाइल वायु प्रतिरक्षा प्रणालीले रोकेर खसालेको जनाएको छ।
बहराइनमा सोमबार पटक–पटक हवाई आक्रमणसम्बन्धी साइरन बजाइएपछि गृह मन्त्रालयले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। इरानको अर्धसरकारी मेहर समाचार संस्थाले बहराइनस्थित एउटा अमेरिकी व्यावसायिक कम्पनीको मुख्यालयमा प्रहार भएपछि आगलागी भएको जनाएको छ।
पछिल्लो सैन्य तनाव होर्मुज जलमार्गको वास्तविक अवस्थाबारे अमेरिका र इरानबीच बढेको गम्भीर मतभेदसँग जोडिएको छ। इरानसँगको युद्धअघि विश्वव्यापी कच्चा तेल आपूर्तिको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो।
आईआरजीसीले आइतबार बिहान होर्मुज जलमार्ग ‘अर्को सूचना नभएसम्म’ र ‘यस क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नहुँदासम्म’ बन्द रहने घोषणा गरेको थियो।
तर अमेरिकाको नेतृत्वमा रहेको संयुक्त समुद्री सूचना केन्द्र र अमेरिकी नौसेनाको केन्द्रीय कमाण्डले इरानी दाबीका बाबजुद ओमानतर्फको दक्षिणी समुद्री मार्ग सञ्चालनमा रहेको जनाएको छ।
अमेरिकी पक्षले अन्तर्राष्ट्रिय नौवहन स्वतन्त्रता र वैधानिक व्यापारिक आवागमन सुरक्षित राख्न आफ्ना सेना तयार रहेको बताएको छ।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अघिल्लो २४ घण्टामा करिब २० वटा व्यावसायिक पानीजहाज अमेरिकी सेनासँगको समन्वयमा होर्मुज जलमार्ग पार गरेको जनाएको छ।
होर्मुजको अवस्थाबारे देखिएको विरोधाभाषको मुख्य कारण अमेरिका र इरानले जुन १८ मा ओमानको मस्कटमा हस्ताक्षर गरेको समझदारीपत्रको फरक व्याख्या भएको बताइएको छ। समझदारीअनुसार दुवै पक्षले ६० दिनभित्र वार्ता गरी अन्तिम सम्झौता गर्ने कार्यक्रम थियो।
अल जजिराका अनुसार समझदारीपत्रको धारा ५ मा सैन्य तनाव कम भएपछि होर्मुज जलमार्गबाट हुने समुद्री आवागमन कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट व्यवस्था छैन।
व्यवहारमा अहिले दुईवटा आवागमन मार्ग देखिएका छन्। उत्तरी मार्ग इरानको निगरानीमा छ भने ओमानको तटसँग जोडिएको दक्षिणी मार्गमा अमेरिकी सेनाले पानीजहाजलाई नौवहन सहयोग उपलब्ध गराइरहेको छ।
तेहरानले उत्तरी मार्गलाई वैधानिक समुद्री मार्ग मानेर जलमार्ग बन्द भएको दाबी गरेको छ। वासिङ्टनले भने दक्षिणी मार्गबाट व्यावसायिक आवागमन जारी रहेकाले जलमार्ग पूर्ण रूपमा बन्द नभएको तर्क गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले होर्मुज जलमार्गको भावी समुद्री आवागमन व्यवस्थापनसम्बन्धी व्यवस्था ओमानसँगको परामर्शबाट तय गर्नुपर्ने बताएका छन्।
तनाव बढेसँगै अन्तर्राष्ट्रिय वित्तीय बजारमा पनि प्रभाव देखिएको छ। सोमबार बिहानसम्म अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ७९.१७ अमेरिकी डलर पुगेको जनाइएको छ। यो जुन २२ यताकै उच्च मूल्य हो।





