कांग्रेस सभापति गगन थापाको निवासअगाडि राखिएको शंकास्पद गाडी प्रहरीले हटायो

ड्रागन मिडिया समाचार कक्ष
नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि सोमबार बिहानदेखि शंकास्पद रूपमा पार्क गरिएको कार प्रहरीले हटाएको छ।
स्थानीय बासिन्दाका अनुसार बिहान करिब ७ बजेदेखि कार साँघुरो बाटो अवरुद्ध हुने गरी राखिएको थियो। गाडीका कारण मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था बनेको थियो।
स्थानीयले कार त्यहाँ राखेपछि चालक प्रहरीको गाडी चढेर गएको देखिएको दाबी गरेका छन्। यद्यपि उक्त दाबीको प्रहरी वा अन्य आधिकारिक निकायबाट पुष्टि भएको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको बताएका थिए।
“अहिले भर्खरै रिपोर्ट भएको छ। अब त्यसलाई पनि तानेर लैजान्छौँ,” उनले भनेका थिए।
त्यसपछि प्रहरीले थापाको निवासअगाडि राखिएको गाडी हटाएको हो। गाडी कसले, किन र कुन उद्देश्यले त्यहाँ राखेको थियो भन्ने खुलिसकेको छैन।
यसअघि सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनका प्रवेशद्वारअगाडि पनि निजी नम्बर प्लेटका गाडी राखिएका थिए।
कान्तिपुरको मुख्य प्रवेशद्वारअगाडि पार्क गरिएको गाडीका कारण पत्रकार तथा कर्मचारीलाई सवारीसहित आवतजावत गर्न कठिनाइ भएको थियो। टेलिभिजनका सवारीसाधन बाहिर निकाल्न नसक्दा रिपोर्टिङमा जाने टोलीसमेत केही समय रोकिएको थियो।
अनलाइनखबर र हिमालय टेलिभिजनका प्रवेशद्वारअगाडि राखिएका गाडीले पनि नियमित आवतजावतमा अवरोध पुर्याएका थिए। प्रहरीलाई जानकारी गराएपछि ती गाडीसमेत क्रेनमार्फत हटाइएको थियो।
एकै बिहान सञ्चारगृह र प्रमुख राजनीतिक दलका सभापतिको निवासअगाडि उस्तै प्रकृतिले गाडी राखिएको घटनाले शंका उत्पन्न गरेको छ। तर ती घटनाबीच आपसी सम्बन्ध रहेको पुष्टि भएको छैन।
प्रहरीले गाडीका धनी तथा चालकको पहिचान, पार्किङको उद्देश्य र आसपासका सीसीटीभी दृश्यका आधारमा घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।





