सञ्चारगृहबाहिर शंकास्पद सवारी राखिएको घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरेको हो।
पार्टीले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र पत्रकारले निर्भीक तथा स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ।
कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई सङ्कुचित पार्ने गतिविधि स्वीकार्य नहुने रास्वपाले स्पष्ट पारेको छ।
स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै रास्वपाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधिको भर्त्सना गरेको छ।
पार्टीले घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गर्न तथा सञ्चारमाध्यमको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग रास्वपाले आग्रह गरेको छ।
रास्वपाले सञ्चारकर्मीलाई कुनै दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रहसमेत गरेको छ।
सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव उभिने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।





