युक्रेनमा सैनिक शासन र आम परिचालन थप ९० दिन लम्ब्याउने प्रस्ताव

ड्रागन मिडिया समाचार कक्ष
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग जारी द्वन्द्वबीच देशमा लागू सैनिक शासन र आम परिचालनको अवधि थप ९० दिन लम्ब्याउने प्रस्तावसहितका विधेयक सोमबार संसदमा पेस गरेका छन्।
हाल कायम दुवै व्यवस्था अगस्ट २ मा समाप्त हुँदैछन्। संसदबाट स्वीकृत भएमा सैनिक शासन र आम परिचालन अर्को ९० दिनसम्म जारी रहनेछ।
युक्रेनी सांसद यारोस्लाभ जेलेज्न्याकका अनुसार विधेयकमाथि मंगलबार र बुधबार मतदान हुने अपेक्षा गरिएको छ।
युक्रेनले फेब्रुअरी २०२२ मा रुससँगको द्वन्द्व तीव्र भएपछि पहिलोपटक सैनिक शासन लागू गर्दै आम परिचालन घोषणा गरेको थियो। त्यसयता दुवै व्यवस्थाको अवधि पटकपटक ९० दिनका लागि थपिँदै आएको छ।
यसैबीच, रुस र युक्रेनले एकअर्काका सैन्य, ऊर्जा तथा यातायात पूर्वाधारलाई लक्षित गरी ड्रोन र अन्य हतियारबाट आक्रमण जारी राखेको दाबी गरेका छन्।
रुसी रक्षा मन्त्रालयले आफ्ना सेनाले रातभर युक्रेनका सैन्य प्रयोजनसँग सम्बन्धित पूर्वाधार, इन्धन, ऊर्जा तथा यातायात केन्द्रमा आक्रमण गरेको जनाएको छ। मन्त्रालयले १२ वटा निर्देशित हवाई बम र ९२६ वटा फिक्स्ड–विङ ड्रोन अवरोध गरिएको दाबीसमेत गरेको छ। उक्त दाबीको स्वतन्त्र पुष्टि भएको छैन।
रुसको संघीय सुरक्षा सेवा, एफएसबीले सैन्य हवाई अड्डालाई लक्षित गरी तयारी गरिएको ठूलो युक्रेनी ड्रोन आक्रमण विफल बनाएको जनाएको छ। एफएसबीले रुसको भित्री भूभागमा रहेका सैन्य आधारलाई निशाना बनाउन ल्याइएका ड्रोन नियन्त्रणमा लिएको र घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ।
मस्कोका अधिकारीहरूले पनि राजधानीतर्फ आउँदै गरेका सयौँ युक्रेनी ड्रोन वायु प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको बताएका छन्। पछिल्ला दिनमा मस्को तथा रुसका अन्य क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार भएको विवरण सार्वजनिक भएका छन्।
युक्रेनले भने आफ्ना ड्रोनले क्रिमिया र त्यस आसपासका रुसी भूभागमा रहेका १० भन्दा बढी सैन्य, रसद तथा ऊर्जा केन्द्रमा प्रहार गरेको जनाएको छ। युक्रेनी पक्षका अनुसार इन्धन भण्डारण संरचना, राडार स्टेसन र बन्दरगाह पूर्वाधारलाई निशाना बनाइएको थियो।
युक्रेनले पछिल्लो समय रुसी तेल प्रशोधन केन्द्र, पानीजहाज र ऊर्जा पूर्वाधारमाथि ड्रोन आक्रमण तीव्र बनाएको छ भने रुसले युक्रेनका सैन्य तथा ऊर्जा संरचनामाथि आक्रमण जारी राखेको छ। दुवै पक्षका क्षति र अवरोधसम्बन्धी सबै दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।





