गम्भीर खडेरीबाट सोमालियामा लाखौँ प्रभावित, तत्काल सहायता गर्न राष्ट्रसंघको अपिल

ड्रागन मिडिया समाचार कक्ष
संयुक्त राष्ट्रसंघले गम्भीर खडेरीका कारण बढ्दो कठिनाइ सामना गरिरहेका सोमालियाका लाखौँ नागरिकका लागि तत्काल मानवीय सहायता उपलब्ध गराउन अपिल गरेको छ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले आइतबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा विशेष गरी उत्तरी सोमालियाका तटीय तथा दुर्गम समुदाय खडेरीबाट गम्भीर रूपमा प्रभावित भएको उल्लेख छ।
ओचाका अनुसार गम्भीर खडेरीले करिब दुई लाख ५० हजार मानिसलाई प्रत्यक्ष असर गरेको छ। खडेरी, बाढी, घट्दो मानवीय सहायता र लामो समयदेखि जारी द्वन्द्वको संयुक्त प्रभावले लाखौँ सोमाली परिवारको सङ्कट सामना गर्ने क्षमता क्रमशः कमजोर बनाएको प्रतिवेदनमा जनाइएको छ।
स्थानीय अधिकारीहरूले तत्काल सहायता माग्दै पाँच लाख ७० हजारभन्दा बढी मानिसलाई पानी र १५ लाख नागरिकलाई खाद्यान्न सहायता आवश्यक रहेको बताएका छन्।
ओचाले भोकमरीको उच्च जोखिममा रहेको बे क्षेत्रको बुरहाकाबा जिल्लामा सोमालिया मानवीय कोषमार्फत ४७ लाख अमेरिकी डलर सहायता उपलब्ध गराइएको जनाएको छ। यसमा हालै छुट्याइएको २० लाख अमेरिकी डलरको आकस्मिक रकमसमेत समावेश छ।
सोमालियामा बाल कुपोषण पनि तीव्र रूपमा बढिरहेको छ। ओचाका अनुसार चार लाख ७३० भन्दा बढी बालबालिका तीव्र कुपोषणबाट प्रभावित छन्। तीमध्ये ९७ हजार १५० बालबालिकामा गम्भीर र तीन लाख तीन हजार ५८० बालबालिकामा मध्यम प्रकृतिको तीव्र कुपोषण देखिएको छ।
विशेष गरी घुमन्ते समुदायमा प्रजनन स्वास्थ्य सेवा र आकस्मिक प्रसूति उपचारको पहुँच अत्यन्त सीमित रहेको प्रतिवेदनमा उल्लेख छ।
खडेरीले शिक्षा क्षेत्रलाई समेत गम्भीर असर पुर्याएको छ। पानी तथा खाद्यान्न अभाव, विस्थापन र कमजोर पूर्वाधारका कारण देशभर ८२० भन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ।
संयुक्त राष्ट्रसंघले समयमै पर्याप्त सहायता उपलब्ध नभए खाद्य असुरक्षा, कुपोषण, विस्थापन तथा स्वास्थ्यसम्बन्धी समस्या अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ।





