३० असार २०८३, मंगलवार

राजस्व लक्ष्यमा सहयोग गर्न अर्थमन्त्री वाग्लेले अर्याललाई बनाए अवैतनिक सल्लाहकार

ड्रागन मिडिया समाचार कक्ष

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व प्रशासन र संकलनसम्बन्धी विषयमा परामर्श लिन एफसीए भोजन अर्याललाई अवैतनिक सल्लाहकार नियुक्त गरेका छन्।

सोमबार गरिएको मन्त्रीस्तरीय निर्णय अनुसार अर्यालले अर्थमन्त्रीलाई राजस्व नीति, संकलन प्रणाली र लक्ष्य प्राप्तिका उपायबारे सुझाव दिनेछन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले उनलाई औपचारिक नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले सरकारले निर्धारण गरेको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हासिल गर्न कर प्रशासनको प्रभावकारिता, राजस्व चुहावट नियन्त्रण र संकलन प्रणाली सुधारमा विज्ञ परामर्श आवश्यक रहेको बताए।

उनले अर्यालको लेखापरीक्षण तथा वित्तीय परामर्शसम्बन्धी अनुभवबाट मन्त्रालयले व्यावहारिक र नतिजामुखी सुझाव प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।

नियुक्तिपत्र ग्रहण गर्दै अर्यालले आफूमाथि गरिएको विश्वासलाई उपलब्धिमूलक कार्यमार्फत प्रमाणित गर्ने बताए। उनले राजस्व क्षेत्रका समस्या पहिचान गरी सुधारका सम्भावित उपायबारे सरकारलाई निष्पक्ष र व्यावसायिक सल्लाह दिने प्रतिबद्धता जनाए।

स्याङ्जा स्थायी घर भएका अर्याल करिब १५ वर्षदेखि लेखापरीक्षण, वित्तीय व्यवस्थापन तथा परामर्श सेवामा संलग्न छन्। उनले सल्लाहकारका रूपमा पारिश्रमिक नलिने मन्त्रालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button