तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

ड्रागन मिडिया समाचार कक्ष
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा सक्रिय बनेको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ। यी तीन प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर साधारणतया बादल लाग्ने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा राति पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
कोशी प्रदेशको तराई भूभाग र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
विभागले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला सूचनाबारे अद्यावधिक रहन अनुरोध गरिएको छ।





