गगन थापाको निवास र मिडिया हाउस क्षेत्रमा अवरोधप्रति कांग्रेसको आपत्ति

ड्रागन मिडिया समाचार कक्ष
नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको निजी निवास, सञ्चारमाध्यमको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने क्षेत्रमा सवारीसाधन तेर्स्याएर बाटो अवरुद्ध गरिएको घटनाको निन्दा गरेको छ।
पार्टी महामन्त्री प्रदीप पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा अपरिचित व्यक्तिहरूले योजनाबद्ध रूपमा आवागमन रोक्ने गतिविधि गरेको उल्लेख गरिएको छ। कांग्रेसले उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति, सञ्चार गतिविधि र लोकतान्त्रिक अभ्यासलाई भयभीत बनाउने उद्देश्यबाट प्रेरित कार्यका रूपमा लिएको छ।
पार्टीका अनुसार सार्वजनिक तथा व्यावसायिक आवागमन प्रभावित हुने गरी गरिएको यस्तो गतिविधिले नागरिक स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।
कांग्रेसले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न व्यक्तिको पहिचान गर्न र दोषीमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि लोकतन्त्रवादी राजनीतिक शक्ति, सञ्चार क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई अलोकतान्त्रिक गतिविधिविरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न पार्टीले आह्वान गरेको छ।





