३० असार २०८३, मंगलवार

अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडकमा यात्रा रोक

ड्रागन मिडिया समाचार कक्ष

अविरल वर्षाका कारण पहिरो र लेदो खस्ने जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सडकका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्था देखिएकाले अर्को सूचना जारी नभएसम्म उक्त मार्ग भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा निरन्तर वर्षाका कारण सडकमा पहिरो, लेदो र ढुंगा खस्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि यात्रा नगर्न अनुरोध गरिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानसहित विभिन्न स्थानमा माथिबाट लेदो र पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

रातिको समयमा सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र परेका एम्बुलेन्स र अन्य सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयले राति साढे १० बजे जारी गरेको सूचनामा निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेको उल्लेख गरेको छ।

अवरुद्ध सडकमा फसेका यात्रुलाई आवश्यकताअनुसार एम्बुलेन्समार्फत सडकखण्ड पार गराइएको पनि कार्यालयले जनाएको छ।

सम्बन्धित निकायले वर्षा जारी रहेकाले पहिरो र थप अवरोधको जोखिम कायम रहेको भन्दै आधिकारिक सूचना प्राप्त नभएसम्म नारायणगढ–मुग्लिन सडक प्रयोग नगर्न आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button