मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष
सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सुसम्बन्धमा प्रतिकूल असर पार्ने कथावस्तु भएका चलचित्रलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहित पत्र पठाउँदै प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न भनेको हो।
मन्त्रालयले चलचित्र जाँचका लागि केन्द्रीय चलचित्र जाँच समितिसमक्ष सिफारिस गर्ने निकाय चलचित्र विकास बोर्डलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ को उपदफा ३ मा रहेको व्यवस्था स्मरण गराएको छ। उक्त ऐन अहिले पनि कार्यान्वयनमा रहेको नेपाल कानुन आयोगको अभिलेखबाट देखिन्छ।
ऐनको उक्त दफामा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था वा मित्रराष्ट्रसँगको सुसम्बन्धमा विरोध पर्ने देखिएमा त्यस्तो चलचित्र प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति नदिने व्यवस्था छ।
मन्त्रालयले यो कानुनी प्रावधान पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै त्यस्तो कथावस्तु भएको कुनै चलचित्र जाँचपासका लागि प्राप्त भएमा ऐनको दफा ८ को उपदफा ३ बमोजिम प्रदर्शन अनुमति दिन नसकिने स्पष्ट पारेको छ।
त्यस्ता चलचित्रबारे निर्माता, वितरक तथा अन्य सरोकारवालालाई समयमै जानकारी गराउन, आवश्यक पत्राचार गर्न र सम्बन्धित निकायबीच समन्वय कायम गर्न पनि मन्त्रालयले चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ।
आलिया भट्ट र शरवरी वाघ अभिनीत भारतीय चलचित्र ‘अल्फा’लाई नेपालमा प्रदर्शन अनुमति दिने विषयमा गतसाता विवाद उत्पन्न भएको पृष्ठभूमिमा मन्त्रालयले कानुनी प्रावधान कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो। उक्त चलचित्रको कथावस्तु मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्न सक्ने वा नसक्ने विषयमा चलचित्र जाँच समितिमा लामो छलफल भएपछि प्रदर्शन अनुमति दिइएको थियो।





