मोरङमा भन्सार छलीका सात लाख ८२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद

ड्रागन मिडिया समाचार कक्ष
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका सात लाख ८२ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।
गण तथा सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार सोमबार सीमावर्ती क्षेत्रमा विभिन्न सवारीसाधनको जाँच गर्ने क्रममा भन्सारसम्बन्धी वैध कागजात नभएका लत्ताकपडा, खाद्यान्न र मल्टिभिटामिन बरामद गरिएको हो।
बरामद सामानको कुल मूल्य सात लाख ८२ हजार ८० रुपैयाँ रहेको छ। तीमध्ये चार लाख ५५ हजार रुपैयाँभन्दा बढी मूल्यका लत्ताकपडा, दुई लाख ७५ हजार ४०० रुपैयाँ बराबरका मल्टिभिटामिन र ५१ हजार रुपैयाँभन्दा बढी मूल्यका किराना सामान रहेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।





