चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ हुनिङले उत्तर कोरियाको भ्रमण गर्ने

ड्रागन मिडिया समाचार कक्ष
चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ हुनिङले जुलाई १५ देखि १७ सम्म कोरियाली जनगणतान्त्रिक गणराज्य अर्थात उत्तर कोरियाको औपचारिक सद्भावना भ्रमण गर्ने भएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ताले मंगलबार वाङले चिनियाँ पार्टी तथा सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भ्रमण गर्ने जानकारी दिएका हुन्।
वाङ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष हुन्।
उत्तर कोरियाको सत्तारूढ कोरियाली श्रमिक पार्टीको केन्द्रीय समिति र उत्तर कोरियाली सरकारको निमन्त्रणामा प्रतिनिधिमण्डलले भ्रमण गर्न लागेको प्रवक्ताले बताएका छन्।
भ्रमणका क्रममा चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता, पार्टीगत सम्बन्ध तथा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ। चीनले भ्रमणको विस्तृत कार्यसूची भने सार्वजनिक गरेको छैन।





