सीमासम्बन्धी विवादपछि संसद पुगेका प्रधानमन्त्री शाह २० मिनेटमै निस्किए

ड्रागन मिडिया समाचार कक्ष
सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि पहिलोपटक संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाह करिब २० मिनेटमै बाहिरिएका छन्।
मंगलबार संसद बैठक शुरु भएको केही समयपछि प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँगै बैठक कक्षमा प्रवेश गरेका थिए। प्रधानमन्त्री शाह केही समय बसेर बाहिरिए पनि लामिछाने भने संसद बैठकमै रहेका थिए।
प्रधानमन्त्री शाहले सीमासम्बन्धी आफ्नो विवादास्पद अभिव्यक्तिबारे कुनै धारणा नराखी संसदबाट बाहिरिएका हुन्। उनको छोटो उपस्थितिलाई लिएर प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले संसद र सांसदका प्रश्नलाई निरन्तर बेवास्ता गरिरहेको आरोप लगाएका छन्।
प्रधानमन्त्री शाहले गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै पहिलोपटक संसदलाई सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने आशयको अभिव्यक्ति दिएका थिए।
उनको उक्त अभिव्यक्तिको चौतर्फी विरोध हुँदै आएको छ। प्रतिपक्षी दलहरूले जेठ १७ गतेदेखि नै प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै संसदमा निरन्तर विरोध जनाउँदै आएका छन्।
प्रतिपक्षी दलले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्ने माग गर्दै आए पनि शाहले त्यसलाई बेवास्ता गरेका थिए। उनले परराष्ट्रमन्त्री शिशिर खनालमार्फत आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिन लगाएका थिए।
तर प्रतिपक्षी दलहरूले परराष्ट्रमन्त्री खनालमार्फत दिइएको स्पष्टीकरणमा चित्त बुझाएका छैनन्। उनीहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति स्वयं उपस्थित भएर सच्याउनुपर्ने अडान राखेका छन्।
मंगलबार प्रधानमन्त्री शाह संसद बैठक शुरु भएको निकै ढिलो गरी उपस्थित भएका थिए। सीमासम्बन्धी विवादमा उनले जवाफ दिने अपेक्षा गरिए पनि करिब २० मिनेटमै कुनै सम्बोधन नगरी बाहिरिएपछि उनको संसदीय उत्तरदायित्वमाथि थप प्रश्न उठेको छ।





