माजिद अन्सारीलाई शनिबार नै छाडिएको प्रहरीको दाबी, परिवार भन्छ सोमबारसम्म निगरानी थियो

ड्रागन मिडिया समाचार कक्ष
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट पक्राउ परेका जेनजी अभियन्ता माजिद अन्सारीलाई शनिबार नै छाडिएको काठमाडौँ प्रहरीले दाबी गरेको छ। तर उनका परिवारका सदस्यले सोमबार मध्याह्नसम्म उनी प्रहरीको निगरानीमा रहेको बताएका छन्।
काठमाडौँ प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलिप घिमिरेले अन्सारीसहित पक्राउ परेका तीनै जनालाई असार २७ गते शनिबार नै छाडिएको बताए।
“हामीले तीनै जनालाई शनिबार नै रिहा गरेका हौँ। उहाँ उपचार गराउने भन्दै अस्पताल जानुभएको हो। अझै घर नजानुभएको विषय थाहा भएन,” घिमिरेले सञ्चारमाध्यमसँग भने।
शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ रहेका सुकुम्बासीको अवस्था बुझ्न पुगेका अन्सारीसहित जेनजी अभियन्ता सरिस्मा थापा तथा भूमि आयोगका पूर्वउपाध्यक्ष एवं नेकपा नेता नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।
थापा र खड्का पक्राउ परेकै साँझ छुटेका थिए। अन्सारी भने उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
अन्सारीले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई रिहा नगरिएको र पक्राउ पुर्जीसमेत नदिइएको दाबी गर्दै जीवन रक्षाका लागि अपिल गरेका थिए।
उनले आफूलाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकसँग सहयोग मागेका थिए।
त्यसपछि सांसद र मानव अधिकारकर्मीहरूले अन्सारीलाई गैरकानुनी हिरासतमा राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
अन्सारीका भाइ आशिष केसरीले सोमबार बिहान करिब ११ देखि १२ बजेसम्म प्रहरी अस्पतालमा रहेको बताए।
“अहिले त प्रहरी छैन। हिजो ११–१२ बजेसम्म प्रहरीले छाडेको थिएन,” उनले मंगलबार सञ्चारमाध्यमसँग भने।
केसरीका अनुसार अन्सारी अझै राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन्। उनको टाउको र अनुहारमा चोट लागेको छ।
अस्पतालले मंगलबार साँझसम्म उपचार जारी राखेर त्यसपछि डिस्चार्ज गर्ने जानकारी दिएको केसरीले बताए।
प्रहरीले अन्सारीलाई शनिबार नै छाडिएको दाबी गरेको छ भने परिवारले सोमबार मध्याह्नसम्म प्रहरीको निगरानी कायम रहेको बताएको छ। दुवै पक्षका भनाइ फरक देखिएपछि अन्सारीलाई औपचारिक रूपमा कहिले र कुन प्रक्रियाबाट रिहा गरिएको थियो भन्ने प्रश्न उठेको छ।





