३० असार २०८३, मंगलवार

मर्मोटको अवैध शिकार र उपभोगबाट प्लेग फैलिन सक्ने भन्दै मङ्गोलियामा चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

मङ्गोलियाको राष्ट्रिय जुनोटिक रोग केन्द्रले गर्मी मौसममा ब्युबोनिक प्लेगको जोखिम बढ्न सक्ने भन्दै मर्मोटको सिकार, मासु सेवन तथा संक्रमित वन्यजन्तुसँगको सम्पर्कबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।

मङ्गोलियामा कानुनले मर्मोटको सिकार, ओसारपसार र व्यापारमा रोक लगाएको भए पनि केही समुदायमा यसको मासुलाई परम्परागत परिकार मान्ने गरिन्छ। यसका कारण अवैध शिकार र मासु सेवन पूर्ण रूपमा नियन्त्रण हुन नसकेको अधिकारीहरूले बताएका छन्।

गर्मी मौसममा मानिसहरू मनोरञ्जन र घुमफिरका लागि ग्रामीण तथा प्राकृतिक प्लेग जोखिम क्षेत्रमा जाने क्रम बढ्ने भएकाले संक्रमणको सम्भावना पनि उच्च हुने केन्द्रले जनाएको छ। विगतका वर्षमा यही अवधिमा मर्मोटको मासु खाएका वा संक्रमित जनावरसँग सम्पर्कमा आएका व्यक्तिमा प्लेग पुष्टि हुनुका साथै केहीको मृत्यु समेत भएको थियो।

राष्ट्रिय जुनोटिक रोग केन्द्रका अनुसार मङ्गोलियाका २१ मध्ये १७ प्रान्तका विभिन्न क्षेत्र प्लेगको जोखिममा छन्। केन्द्रले यसअघि १७ प्रान्तका १३७ जिल्लामा प्लेगका प्राकृतिक केन्द्र रहेको र केही क्षेत्रमा जोखिम विशेष रूपमा सक्रिय रहेको जनाएको थियो।

मङ्गोलियामा प्लेगका प्राकृतिक केन्द्रहरू वसन्तको अन्त्यदेखि सक्रिय हुन थाल्ने र अगस्ट तथा सेप्टेम्बरमा जोखिम उच्च बिन्दुमा पुग्ने गरेको केन्द्रको विवरणमा उल्लेख छ। मर्मोटलगायत वन्य मुसा, तिनमा बस्ने संक्रमित उपियाँ तथा संक्रमित जनावरको मासु वा अंगसँगको प्रत्यक्ष सम्पर्कबाट रोग मानिसमा सर्न सक्छ। राम्रोसँग नपकाइएको संक्रमित मासु सेवन गर्दा पनि संक्रमण हुने जोखिम रहन्छ।

ब्युबोनिक प्लेग यर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण हुने गम्भीर जुनोटिक रोग हो। यसले प्रायः उच्च ज्वरो, टाउको दुखाइ, कमजोरी तथा घाँटी, काखी वा तिघ्राको कापमा रहेका लसिका ग्रन्थि दुख्ने र सुन्निने लक्षण उत्पन्न गर्छ। समयमै उपचार नगरिए संक्रमण रगत वा फोक्सोसम्म फैलिन सक्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्लेगलाई प्रारम्भिक चरणमै पहिचान गरी उपयुक्त एन्टिबायोटिक औषधिबाट प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ। तर फोक्सोमा संक्रमण हुने न्यूमोनिक प्लेगको उपचार समयमै नभए रोग शुरु भएको १८ देखि २४ घण्टाभित्र घातक बन्न सक्छ।

मङ्गोलियाली स्वास्थ्य अधिकारीहरूले मर्मोटको सिकार नगर्न, यसको मासु तथा अंग खरिद वा सेवन नगर्न, मरेका वा बिरामी वन्यजन्तु नछुन र सम्भावित सम्पर्कपछि ज्वरो, कमजोरी वा लसिका ग्रन्थि सुन्निने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button