विश्वकप सेमिफाइनलमा अर्जेन्टिना–इंग्ल्यान्ड भिडन्त, इतिहाससँगै मेसीको पहिलो चुनौती

ड्रागन मिडिया समाचार कक्ष
फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुने भएका छन्। यससँगै विश्व फुटबलका दुई ठूला टोलीबीचको ऐतिहासिक तथा भावनात्मक प्रतिस्पर्धा पुनः चर्चामा आएको छ।
खेल जुलाई १५ बुधबार साँझ ७ बजे अमेरिकाको एटलान्टा स्टेडियममा शुरु हुनेछ। नेपाली समयअनुसार खेल जुलाई १६ बिहीबार बिहान ४:४५ बजे शुरु हुनेछ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। इंग्ल्यान्डले पनि अतिरिक्त समयसम्म पुगेको खेलमा नर्वेलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।
यो खेल अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा इंग्ल्यान्डविरुद्ध खेल्न लागेको पहिलो खेल हुनेछ। अर्जेन्टिना र इंग्ल्यान्डबीच पछिल्लोपटक सन २००५ मा मैत्रीपूर्ण खेल भएको थियो, तर निलम्बनका कारण मेसी उक्त खेलमा सहभागी हुन पाएका थिएनन्।
दुई देशबीचको फुटबल प्रतिस्पर्धामा सन १९८२ को फकल्यान्ड तथा माल्भिनास युद्धको राजनीतिक पृष्ठभूमि पनि जोडिने गरेको छ। सन १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाले गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल र त्यसलगत्तै गरेको ऐतिहासिक एकल गोल अहिले पनि विश्वकप इतिहासका सर्वाधिक चर्चित क्षणमध्ये पर्छन्।
सन १९९८ को विश्वकपमा अर्जेन्टिनाविरुद्ध डेभिड बेकह्यामले रातो कार्ड पाएको घटना पनि दुई टोलीबीचको प्रतिस्पर्धाको महत्वपूर्ण अध्याय मानिन्छ। सन २००२ को विश्वकपमा भने बेकह्यामकै पेनाल्टी गोलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो।
इतिहास, राजनीति र भावनात्मक प्रतिस्पर्धाका बाबजुद अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले खेललाई सामान्य फुटबल प्रतिस्पर्धाका रूपमा लिन आग्रह गरेका छन्।
स्विट्जरल्यान्डविरुद्धको जितपछि उनले इंग्ल्यान्डलाई कठिन प्रतिद्वन्द्वी र उत्कृष्ट प्रशिक्षक भएको टोलीका रूपमा वर्णन गर्दै भनेका थिए, “यो केवल एउटा फुटबल खेल हो।”
जो कोलको टिप्पणीले बढायो चर्चा
सेमिफाइनलअघि इंग्ल्यान्डका पूर्व मिडफिल्डर जो कोलले मेसीलाई निष्प्रभावी बनाउँदै इंग्ल्यान्डले अर्जेन्टिनालाई हराउने विश्वास व्यक्त गरेका छन्।
ग्यारी लाइनेकर र मिका रिचर्ड्ससँगको कार्यक्रममा कोलले मेसीलाई “सुताइदिने” टिप्पणी गरेपछि रिचर्ड्सले त्यस्तो भाषा प्रयोग नगर्न तत्काल आग्रह गरेका थिए।
कोलले भने आफ्नो भविष्यवाणी दोहोर्याउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा पुग्ने र अर्जेन्टिनालाई पराजित गर्ने विश्वास व्यक्त गरे। उनले इंग्ल्यान्डको जितबारे आफूलाई भित्रैदेखि विश्वास लागेको बताएका थिए।
इंग्ल्यान्डका अर्का पूर्व खेलाडी ग्यारी नेभिलको अर्जेन्टिनी रक्षापङ्क्तिबारे गरिएको टिप्पणी पनि चर्चामा आएको छ।
नेभिलले अर्जेन्टिनाका सेन्टर–ब्याक क्रिस्टियन रोमेरो र लिसान्ड्रो मार्टिनेजलाई विरोधाभाषपूर्ण रूपमा विश्वका “उत्कृष्ट तर कमजोर” रक्षकको जोडी भनेका छन्। उनका अनुसार दुवै खेलाडीले कहिलेकाहीँ रक्षात्मक गल्ती गरे पनि अर्जेन्टिनाको जर्सीमा अत्यन्त आक्रामक, प्रभावकारी र प्रतिबद्ध प्रदर्शन गर्छन्।
स्विट्जरल्यान्डलाई हराएपछि अर्जेन्टिनाका खेलाडी र समर्थकले मैदानमा उत्सव मनाएका थिए। त्यसक्रममा अर्जेन्टिनी समर्थकमाझ लोकप्रिय “जो उफ्रँदैन, ऊ अंग्रेज हो” भन्ने नारा पनि लगाइएको थियो।
ऐतिहासिक गाढा निलो जर्सीमा अर्जेन्टिना
अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा आफ्नो गाढा निलो अवे जर्सी लगाएर खेल्ने भएको छ। रिपोर्टहरूका अनुसार अर्जेन्टिनाको विशेष अनुरोधलाई फिफाले स्वीकृति दिएको हो। इंग्ल्यान्ड घरेलु टोलीका रूपमा आफ्नो परम्परागत सेतो जर्सीमा मैदान उत्रिनेछ।
अर्जेन्टिनाले सन १९८६ मा इंग्ल्यान्डविरुद्ध म्याराडोनाले दुई ऐतिहासिक गोल गर्दा पनि निलो जर्सी लगाएको थियो। सन १९९८ मा बेकह्यामले रातो कार्ड पाएको र अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको खेलमा पनि टोली निलो जर्सीमै थियो।
यसैकारण अर्जेन्टिनी समर्थक र सञ्चारमाध्यमले गाढा निलो जर्सीलाई इंग्ल्यान्डविरुद्धको ‘भाग्यशाली’ पोसाकका रूपमा व्याख्या गरेका छन्। यद्यपि खेलको नतिजा जर्सीभन्दा दुवै टोलीको रणनीति, खेलाडीको प्रदर्शन र दबाब व्यवस्थापनमा निर्भर हुनेछ।
सेमिफाइनल अर्जेन्टिनाले जिते मेसीले विश्वकपको फाइनल खेल्नेछन्। पराजित भए पनि अर्जेन्टिनाले तेस्रो स्थानका लागि खेल्नुपर्ने भएकाले यो मेसीको प्रतियोगिताकै अन्तिम खेल भने हुने छैन।
अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेताले उपाधिका लागि फ्रान्स र स्पेनबीचको अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।





