३० असार २०८३, मंगलवार

शंकास्पद पार्किङका पाँच गाडीमाथिको कारबाहीबारे ट्राफिक प्रहरीकै विरोधाभाषपूर्ण दाबी

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौंका तीन सञ्चारगृहसहित विभिन्न पाँच स्थानमा आवागमन अवरुद्ध हुने गरी शंकास्पद रूपमा छाडिएका गाडी फिर्ता गर्ने क्रममा ट्राफिक प्रहरीले कारबाही गरे वा नगरेको भन्ने विषयमा विरोधाभाषपूर्ण विवरण सार्वजनिक भएका छन्।

कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका प्रवेशद्वार अगाडि तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित निवास र अनामनगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि सोमबार पाँचवटा गाडी शंकास्पद रूपमा राखिएका थिए।

ती गाडीका कारण सञ्चारकर्मी, कर्मचारी, सेवाग्राही र सर्वसाधारणको आवागमन प्रभावित भएपछि प्रहरी तथा ट्राफिक प्रहरीले क्रेन प्रयोग गरी गाडी नियन्त्रणमा लिएका थिए।

ट्राफिक प्रहरीका केही अधिकारीले भने सोमबार राति नै साँचो लिएर आएका व्यक्तिलाई कुनै जरिवाना नतिराई र उनीहरूको विवरणसमेत अभिलेखमा नराखी गाडी बुझाइएको दाबी गरेका छन्। ती अधिकारीका अनुसार गाडी बिनाकारबाही फिर्ता गर्न गृह मन्त्रालयबाट दबाब आएको थियो। यद्यपि गृह मन्त्रालयले यस आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने उक्त दाबी अस्वीकार हुने गरी पाँचवटै गाडीलाई कानुनअनुसार जरिवाना तिराएर मात्र छाडिएको बताएका छन्।

काफ्लेका अनुसार पाँचवटा शंकास्पद गाडीसहित सोमबार अनधिकृत पार्किङमा भेटिएका १४ वटा सवारीसाधनलाई अवस्थाअनुसार पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गरिएको थियो। उनले सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि जरिवानाको चिट काटेर गाडी फिर्ता गरिएको बताएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आधिकारिक वेबसाइटमा पनि सोमबार सार्वजनिक सडकमा जथाभाबी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएका १४ वटा सवारीसाधनलाई प्रचलित कानुनअनुसार कारबाही गरिएको उल्लेख छ। तर सार्वजनिक विवरणमा पाँच गाडीका चालक वा जिम्मा लिने व्यक्तिको नाम, जरिवाना रकम र चिट नम्बर छुट्टाछुट्टै खुलाइएको छैन।

यसअघि ट्राफिक श्रोतले गाडी लिन आएका व्यक्तिहरू वास्तविक सवारीधनी नभएको र उनीहरूको विवरण कार्यालयको अभिलेखमा नराखिएको दाबी गरेको थियो। जरिवानाको चिट काटिएको भए सम्बन्धित चालक वा सवारी प्रयोगकर्ताको नाम ट्राफिक प्रणालीमा स्वतः अभिलेखित हुनुपर्ने श्रोतको भनाइ छ।

गाडीहरूको स्वामित्वसमेत खुलिसकेको बताइएको छ। कान्तिपुर पब्लिकेसन्स अगाडि राखिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभाग सदस्य रवि जयसवालले प्रयोग गर्दै आएको र गगनकुमार थापाको निवास अगाडि राखिएको गाडी कुमारप्रसाद अर्यालको नाममा दर्ता रहेको विवरण सार्वजनिक भएको छ।

सवारीधनी पहिचान हुनु र योजनाबद्ध रूपमा आवागमन अवरुद्ध गर्ने कार्यमा उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित हुनु भने फरक विषय हुन्। गाडी कसले चलाएर ल्याएको थियो, किन पाँच स्थानमा लगभग एउटै समयमा राखियो, चालकहरू गाडी छाडेपछि कहाँ गए र उनीहरूबीच सम्पर्क थियो कि थिएन भन्ने विषय अझै स्पष्ट भएको छैन।

घटना सामान्य ट्राफिक उल्लंघनमा मात्र सीमित नभई सञ्चारगृह र राजनीतिक नेताको निवासलाई लक्षित गरी गरिएको सम्भावित समन्वित गतिविधिसँग जोडिएकाले जरिवानाको सामान्य कारबाहीले मात्र अनुसन्धान पूरा नहुने देखिएको छ।

ट्राफिक प्रहरीले कारबाही गरेको दाबी पुष्टि गर्न पाँचवटै गाडीको चिट नम्बर, जरिवाना रकम, रकम बुझ्ने मिति, गाडी जिम्मा लिने व्यक्तिको परिचय र अभिलेख सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

त्यसैगरी, गृह मन्त्रालयबाट दबाब आएको भन्ने आरोपबारे मन्त्रालय र प्रहरी नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने देखिएको छ। आधिकारिक अभिलेख सार्वजनिक नभएसम्म गाडीहरू कानुनअनुसार जरिवाना तिराएर छाडिएका हुन् वा प्रभाव र दबाबका आधारमा बिनाकारबाही फिर्ता गरिएका हुन् भन्ने विवाद कायम रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button