कर्जा दुरुपयोग अनुसन्धानमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रुपन्देहीको तिलोत्तमाका व्यवसायी शशी शर्मा पौडेललाई बैंकको कर्जा दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको छ।
सीआईबीको टोलीले पौडेललाई मंगलबार नियन्त्रणमा लिएको हो। सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले रिसोर्ट निर्माणका लागि प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
पौडेलले तिलोत्तमा नगरपालिका–१४, टिकुलीगढमा लुम्बिनी एग्रो प्रडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालि सञ्चालन गर्दै आएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि गरिरहेको अनुसन्धानका क्रममा शशी शर्मा पौडेलसँग आर्थिक कारोबार तथा व्यावसायिक सम्बन्ध देखिएपछि थप छानबिनका लागि सीआईबीलाई पत्राचार गरेको बताइएको छ। त्यसपछि सीआईबीले कर्जा दुरुपयोगसम्बन्धी विषयमा उनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धान अधिकारीहरूका अनुसार पूर्वअर्थमन्त्री पौडेल र शशी शर्मा पौडेलबीचको आर्थिक कारोबार, जग्गा तथा व्यावसायिक लाभसम्बन्धी सूचनामाथि पनि अनुसन्धान भइरहेको छ। ती विषय अनुसन्धानकै चरणमा रहेकाले आरोप पुष्टि भइसकेको छैन।
पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
विशेष अदालतले सोमबार उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँपटक अनुमति दिएको थियो।
शशी शर्मा पौडेलमाथि लगाइएको कर्जा दुरुपयोगको आरोप तथा पूर्वअर्थमन्त्री पौडेलसँग जोडिएका आर्थिक कारोबारको प्रकृति अनुसन्धानपछि मात्र स्पष्ट हुने सीआईबीले जनाएको छ।





