३१ असार २०८३, बुधबार

वन्यजन्तु संरक्षणका लागि भोजपुरको सामुदायिक वनमा पोखरी निर्माण

ड्रागन मिडिया समाचार कक्ष

वन्यजन्तुको संरक्षण तथा खडेरीका समयमा पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ।

डिभिजन वन कार्यालय भोजपुरको प्राविधिक सहयोग तथा समन्वय र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा पोखरी निर्माण गरिएको हो।

जलवायु परिवर्तनका कारण वन क्षेत्रमा तापक्रम बढ्दै जानुका साथै पानीका प्राकृतिक श्रोत सुक्ने क्रम बढेपछि वन्यजन्तुका लागि पानीको अभाव चुनौतीपूर्ण बन्न थालेको छ। पानीको खोजीमा वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्दा मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्ने गरेको छ।

वन क्षेत्रभित्रै पानीको व्यवस्था भएपछि वन्यजन्तुलाई मानव बस्तीमा आउनबाट रोक्न तथा उनीहरूको संरक्षण गर्न पोखरीले महत्वपूर्ण सहयोग पुर्‍याउने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले बताए।

वन अधिकृत नुर मुहमत मियाका अनुसार पोखरी ‘वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रम’ अन्तर्गत निर्माण गरिएको हो। पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समूहले ५३ हजार रुपैयाँ बराबरको श्रमदान गरेको थियो। पोखरी निर्माणमा कुल पाँच लाख ५३ हजार रुपैयाँ बराबरको लागत लागेको छ।

वनभित्रै पानी उपलब्ध भएपछि वन्यजन्तु आफ्नै बासस्थानमा सुरक्षित रूपमा बस्न सक्ने र यसले वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणमा समेत टेवा पुग्ने वन कार्यालयका कर्मचारी सीताराम ओझा र उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर भट्टराईले बताए।

खडेरी बढ्दै जानु र पानीका मुहान सुक्नुका कारण वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बनिरहेको अवस्थामा पोखरी स्थानीय स्तरमा उपयोगी हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

डिभिजन वन कार्यालयले आगामी दिनमा पनि वन्यजन्तु तथा उनीहरूको बासस्थान संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button