विकास साझेदार छान्ने प्रशान्त टापु देशको अधिकारमा हस्तक्षेप नगर्न चीनको आग्रह

ड्रागन मिडिया समाचार कक्ष
चीनले प्रशान्त टापु देशहरूसँगको आफ्नो सम्बन्ध दक्षिण–दक्षिण सहकार्य सुदृढ गर्दै साझा विकास प्रवर्द्धन गर्ने उद्देश्यमा आधारित रहेको स्पष्ट पार्दै यसमा कुनै तेस्रो पक्षले अवरोध सिर्जना गर्न नहुने बताएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार बेइजिङमा सोलोमन टापुका विदेश तथा बाह्य व्यापारमन्त्री रिक हौएनिप्वेलासँगको वार्तामा प्रशान्त टापु देशलाई आफ्ना विकास साझेदार स्वतन्त्र रूपमा छनोट गर्ने अधिकार रहेको बताए।
वाङले सन् २०१९ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन र सोलोमन टापुबीचको सम्बन्ध तीव्र रूपमा विकसित भएको उल्लेख गरे। विभिन्न क्षेत्रमा अघि बढाइएको सहकार्यले ठोस उपलब्धि हासिल गर्नुका साथै सोलोमन टापुका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको उनको भनाइ थियो।
उनले सोलोमन टापुको नयाँ सरकारसँग सबै तहमा संवाद गहिरो बनाउँदै विभिन्न क्षेत्रमा कायम सहकार्यलाई निरन्तरता दिन चीन तयार रहेको बताए। दुवै देशबीचको नयाँ युगका लागि व्यापक रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्याउने चीनको लक्ष्य रहेको उनले स्पष्ट पारे।
चीनले सोलोमन टापुसँगको सहकार्यमा राजनीतिक शर्त नजोड्ने, आफ्नो इच्छा नथोपर्ने र कार्यान्वयन नहुने आश्वासन नदिने नीति अपनाएको वाङले बताए। उनले विकास रणनीतिबीच समन्वय, उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य तथा हरित ऊर्जाका क्षेत्रमा व्यावहारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए।
दुवै पक्षले शिक्षा, स्वास्थ्य, युवा आदानप्रदान र जनस्तरीय सम्बन्धलाई थप गहिरो बनाउनुका साथै जलवायु परिवर्तनसहितका विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीय समन्वय विस्तार गर्ने विषयमा पनि छलफल गरेका छन्।
सोलोमन टापुका विदेशमन्त्री हौएनिप्वेलाले चीनसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको बताए। उनले सोलोमन टापुको आर्थिक तथा सामाजिक विकासमा चीनले दीर्घकालदेखि उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे।
हौएनिप्वेलाले सोलोमन टापु एक–चीन सिद्धान्तप्रति दृढ रहेको र मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माणसम्बन्धी अवधारणा तथा चीनद्वारा प्रस्तावित चार प्रमुख विश्वव्यापी पहललाई समर्थन गर्ने बताए। उनले संयुक्त राष्ट्र संघ र विश्व व्यापार संगठनलगायत बहुपक्षीय मञ्चमा चीनसँगको समन्वय तथा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।
यो हौएनिप्वेलाले पद सम्हालेपछि गरेको पहिलो औपचारिक चीन भ्रमण हो। उनी जुलाई १० देखि १५ सम्म चीन भ्रमणमा रहेका छन्। भ्रमणबाट राजनीतिक विश्वास बढाउने, पारस्परिक लाभमा आधारित सहकार्य गहिरो बनाउने र द्विपक्षीय सम्बन्धको स्थिर विकासलाई अघि बढाउने अपेक्षा गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
बेइजिङ पुग्नुअघि हौएनिप्वेलाले च्याङसु प्रान्तका उपगभर्नर तथा विदेश मामिलासम्बन्धी अधिकारीसँग कृषि, शिक्षा, प्रविधि र शीप विकासका विषयमा वार्ता गरेका थिए। उनले नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने समुद्री पानी प्रशोधन परियोजनामा सम्भावित सहकार्यबारे चिनियाँ कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरेका थिए।
चीन र सोलोमन टापुबीचको पछिल्लो संवादले कूटनीतिक सम्बन्धलाई राजनीतिक सम्पर्कमा मात्र सीमित नराखी हरित ऊर्जा, पूर्वाधार, मानव संसाधन विकास र बहुपक्षीय सहकार्यसँग जोडेर थप व्यावहारिक बनाउने दुवै देशको प्रयासलाई प्रतिबिम्बित गरेको छ।





