३१ असार २०८३, बुधबार

सीमावर्ती जलक्षेत्र संरक्षणका लागि चीन–रुसद्वारा करिब ५७ लाख माछाका भुरा प्रवाह

ड्रागन मिडिया समाचार कक्ष

चीन र रुसले साझा सीमावर्ती नदीमा मत्स्य स्रोत पुनःस्थापना तथा जलचर जैविक विविधता संरक्षण गर्ने उद्देश्यले करिब ५७ लाख माछाका भुरा प्रवाह गरेका छन्।

उत्तरपूर्वी चीनको हेइलोङच्याङ प्रान्तस्थित थोङच्याङ शहरमा मंगलबार आयोजित संयुक्त कार्यक्रममा हेइलोङच्याङ स्टर्जन, कालुगा तथा व्यावसायिक महत्वका विभिन्न प्रजातिका माछाका भुरा सीमावर्ती जलक्षेत्रमा छाडिएका हुन्। कार्यक्रममा प्रयोग गरिएका सबै भुरा थोङच्याङस्थित मापदण्डअनुसार सञ्चालित चिसो पानीका माछा प्रजनन केन्द्रमा उत्पादन गरिएको थियो।

कार्यक्रममा पाँच सेन्टिमिटरभन्दा लामा २०० वटा हेइलोङच्याङ स्टर्जन, चार लाख ८० हजार कालुगा तथा सिल्भर कार्प र ग्रास कार्पसहित व्यावसायिक महत्वका अन्य प्रजातिका करिब ५२ लाख भुरा नदीमा प्रवाह गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

प्रवाह गरिएका केही भुरामा वैज्ञानिक पहिचानका लागि फ्लोरोसेन्ट चिह्न राखिएको छ। यसबाट प्राकृतिक जलक्षेत्रमा तिनको वृद्धि, बाँच्ने दर, आवागमन र प्रजनन अवस्थाबारे अनुगमन गर्न तथा मत्स्य स्रोत वृद्धि कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न सहयोग पुग्ने बताइएको छ।

चीन–रुस सीमाका केही भाग निर्माण गर्ने हेइलोङच्याङ र उसुली नदी दुर्लभ, सङ्कटापन्न तथा बसाइँ सर्ने माछाका महत्वपूर्ण बासस्थान हुन्। यी नदीमा हेइलोङच्याङ स्टर्जन, कालुगा र चुम साल्मनलगायतका प्रजाति पाइन्छन्।

हेइलोङच्याङ जलचर प्राणी स्रोत संरक्षण केन्द्रका निर्देशक छन हुआइफाका अनुसार संयुक्त कार्यक्रम मुख्य रूपमा दुर्लभ तथा सङ्कटापन्न माछाका प्रजातिको संरक्षण र तिनको सङ्ख्या पुनःस्थापनामा केन्द्रित छ। भुराको स्वास्थ्य परीक्षण, ढुवानी, नदीमा प्रवाह, पहिचान चिह्न र अनुगमनसम्मका सबै प्रक्रिया राष्ट्रिय तथा प्रान्तीय मापदण्डअनुसार सञ्चालन गरिएको उनले बताए।

अनुगमन तथ्याङ्कले स्टर्जन र कालुगाको उमेर समूह विस्तार हुँदै गएको देखाएको छ। सन् २०१८ मा समातिएका यस्ता माछाको उमेर एकदेखि तीन वर्षसम्म रहेकामा सन् २०२४ र २०२५ मा एकदेखि पाँच वर्षसम्मका माछा भेटिएका थिए। अनुगमनका क्रममा आठ वर्ष उमेर पुगेको माछासमेत फेला परेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

रुसी विशेषज्ञले पनि हेइलोङच्याङ नदीको मुहान क्षेत्रमा गरिएको अनुगमनमा स्टर्जन र कालुगाका किशोर माछाको सङ्ख्या क्रमशः बढेको जानकारी चिनियाँ पक्षलाई दिएका छन्। दुवै देशका विशेषज्ञले नियमित रूपमा प्रजातिको संरक्षण अवस्था, स्रोत पुनःस्थापना कार्यक्रमको परिणाम र थप संरक्षण उपायबारे छलफल गर्दै आएका छन्।

चीन र रुसले सन् २००८ देखि हेइलोङच्याङ नदीका सीमावर्ती जलक्षेत्रमा संयुक्त मत्स्य स्रोत वृद्धि कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हालसम्म १८ वटा संयुक्त कार्यक्रममार्फत स्टर्जन र कालुगाका दुई करोडभन्दा बढी भुरा प्रवाह गरिएको छ।

दुवै देशले वार्षिक संयुक्त प्रवाह, माछाका भुरा उत्पादन, वैज्ञानिक अनुगमन, सीमापार मत्स्य प्रशासन र अवैध माछा शिकार नियन्त्रणलाई समेट्ने दीर्घकालीन संरक्षण संयन्त्र विकास गरेका छन्। यसले साझा नदी प्रणालीको पारिस्थितिक सन्तुलन कायम राख्नुका साथै सीमावर्ती क्षेत्रका माछा व्यवसायमा निर्भर समुदायको जीविकोपार्जन संरक्षणमा पनि सहयोग पुर्‍याएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार मत्स्य संरक्षणसम्बन्धी संयुक्त प्रयासले साझा नदीको जैविक स्रोत पुनःस्थापना, दिगो उपयोग र दुई देशबीचको व्यावहारिक सहकार्यलाई थप सुदृढ बनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button