३१ असार २०८३, बुधबार

तिब्बतको गुरोमा खुर्सानी उद्योग विस्तार, १,३०० भन्दा बढी स्थानीयको आय वृद्धि

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित छाम्दो शहरको कारुब जिल्लामा सानो रातो खुर्सानी स्थानीय कृषि, रोजगारी र ग्रामीण पुनरुत्थानको महत्वपूर्ण आधारका रूपमा विकसित भएको छ।

कारुब जिल्लाको गुरो नगर क्षेत्रस्थित आङछ्यु नदी किनारमा विस्तार गरिएको खुर्सानी खेती र प्रशोधन उद्योगमा हाल १६० भन्दा बढी कृषक परिवार प्रत्यक्ष रूपमा संलग्न छन्। उद्योगको समग्र गतिविधिबाट ३४७ परिवारका एक हजार ३०० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

यस क्षेत्रको खुर्सानी ‘गुरो ब्रिज खुर्सानी’का नामले स्थानीय बजारमा प्रसिद्ध छ। स्थानीय विवरणअनुसार करिब ४२ वर्षअघि युननानका एक व्यापारीले गुरो क्षेत्रमा बार्बिक्यु व्यवसाय सञ्चालन गर्दा खुर्सानीको बीउ र प्रशोधन गर्ने शीप ल्याएका थिए। स्थानीय तिब्बती कृषकले बीउलाई स्थानीय हावापानी अनुकूल बनाउँदै दुई दशकभन्दा लामो समयसम्म खेती र प्रशोधन गरेपछि यसले विशिष्ट स्थानीय प्रजाति र ब्रान्डको रूप लिएको हो।

गुरो क्षेत्रका पार्टी समितिका सचिव फङ चनचुले खुर्सानी उद्योगलाई स्थानीय विभिन्न जातीय समुदायबीचको सहकार्य र सांस्कृतिक आदानप्रदानको जीवन्त उदाहरणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार स्थानीय किसानले युननानबाट आएको खेती तथा प्रशोधन अनुभवलाई उच्च भूभागको वातावरणसँग जोडेर पूर्ण उत्पादन श्रृंखला विकास गरेका हुन्।

यस क्षेत्रमा वर्षमा दुई हजार ८०० घण्टाभन्दा बढी घाम लाग्ने र माटोमा सेलेनियम तत्व पाइने भएकाले खुर्सानी उत्पादनका लागि अनुकूल वातावरण रहेको छ। स्थानीय प्रशासनले पानी र मलको एकीकृत व्यवस्थापन प्रविधि प्रयोग गरेपछि परीक्षण क्षेत्रमा प्रति मु उत्पादन अधिकतम पाँच हजार जिन अर्थात करिब दुई हजार ५०० किलोग्रामसम्म पुगेको जनाइएको छ।

खुर्सानी प्रशोधन केन्द्रमा आधुनिक स्वचालित उत्पादन तथा प्याकेजिङ प्रणाली जडान गरिएको छ। तर स्थानीय उत्पादनको मौलिक स्वाद सुरक्षित राख्न उच्च भूभागको घाममा प्राकृतिक रूपमा सुकाउने र परम्परागत तरिकाले कुट्ने विधिलाई पनि निरन्तरता दिइएको छ।

प्राविधिक कर्मचारीका अनुसार उच्च भूभागको शक्तिशाली पराबैजनी किरणले खुर्सानीलाई प्राकृतिक रूपमा जीवाणुरहित बनाउन सहयोग गर्छ। परम्परागत कुटाइ प्रक्रियाले खुर्सानीको तीखोपन, प्राकृतिक सुगन्ध र स्वादलाई सुरक्षित राख्ने बताइएको छ।

विगतमा स्थानीय किसान मुख्य रूपमा जौ खेती र पशुपालनमा निर्भर थिए। एक मु जमिनमा जौ खेती गर्दा वार्षिक करिब एक हजार युआन आम्दानी हुने गरेकामा खुर्सानीबाट आठ हजारदेखि १२ हजार युआनसम्म कुल आम्दानी हुन थालेको स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय कृषक छिरिङका अनुसार विगतमा कृषि कार्यबाट पर्याप्त आम्दानी नहुँदा खेतीको समय सकिएपछि रोजगारी खोज्न बाहिर जानुपर्ने अवस्था थियो। अहिले आफ्नै क्षेत्रमा खुर्सानी खेती गर्नुका साथै प्रशोधन कारखानामा काम गर्न पाएपछि परिवारको आम्दानी उल्लेख्य रूपमा बढेको उनले बताएका छन्।

स्थानीय प्रशासनले खुर्सानी उद्योगलाई प्राथमिक विकास परियोजनाका रूपमा अघि बढाउँदै २१ लाख युआन लगानीमा प्रयोगविहीन पुरानो प्रशासनिक भवनलाई मापदण्डयुक्त प्रशोधन कारखानामा रूपान्तरण गरेको छ। खेती क्षेत्रसम्म पुग्ने दुई सय मिटर सडक सुधार गर्नुका साथै सिँचाइ प्रणाली पनि विस्तार गरिएको छ।

गालिन, गुओछ्योङ र योडा गाउँका सहकारी संस्थाले संयुक्त रूपमा सञ्चालन गरेको कारखानामा सबै स्थानीय गाउँलेलाई शेयरधनीका रूपमा समेटिएको छ। कारखानाले औपचारिक ट्रेडमार्क र खाद्य उत्पादन अनुमतिपत्र प्राप्त गरेपछि घरमा अनौपचारिक रूपमा उत्पादन गरिने खुर्सानीलाई मापदण्डयुक्त व्यावसायिक उत्पादनमा रूपान्तरण गरिएको छ।

स्थानीय किसानलाई खुर्सानीका बिरुवा र जैविक मल निःशुल्क उपलब्ध गराउने तथा उत्पादित सबै ताजा खुर्सानी कारखानाले निश्चित रूपमा खरिद गर्ने ‘उत्पादन आधार र किसान’ मोडेल अपनाइएको छ। यस व्यवस्थाले किसानको बजारसम्बन्धी जोखिम घटाउनुका साथै खेती विस्तारप्रति उनीहरूको विश्वास बढाएको छ।

गत वर्ष उद्योगमा सहभागी तीन प्रशासनिक गाउँले जनही एक लाख युआन लाभांश प्राप्त गरेका थिए। उत्पादनको बजार विस्तार गर्दै छाम्दो शहर र आसपासका छ जिल्ला तथा क्षेत्रका लागि बिक्री प्रतिनिधि नियुक्त गरिएको छ। स्थानीय उत्पादन सुपरमार्केट, कृषि प्रदर्शनी, अनलाइन प्रत्यक्ष प्रसारण र बार्बिक्यु व्यवसायमार्फत बिक्री भइरहेको छ।

प्रशोधन कारखानामा कार्यरत आठ स्थायी कर्मचारीमध्ये सात जना स्थानीय बेरोजगार विश्वविद्यालय स्नातक छन्। उनीहरूले उत्पादन, प्याकेजिङ तथा अनलाइन बिक्रीको जिम्मेवारी सम्हालिरहेका छन् र प्रतिव्यक्ति मासिक पाँच हजार युआनभन्दा बढी स्थिर आम्दानी गरिरहेको जनाइएको छ।

गुरो नगर क्षेत्रले अब ३३ लाख युआन थप लगानी गरेर खुर्सानी खेती क्षेत्रलाई ८० मुसम्म विस्तार गर्ने योजना बनाएको छ। तीन सय मु क्षेत्रफलको एकीकृत कृषि क्षेत्र, विद्यार्थीका लागि कृषि अध्ययन केन्द्र र ग्रामीण आवाससहित कृषि, संस्कृति तथा पर्यटनलाई जोड्ने नयाँ व्यवसाय विकास गर्ने तयारी पनि भइरहेको छ।

स्थानीय कारखानाले खुर्सानीको धुलोमा मात्र सीमित नरही खुर्सानीको अचार तथा सस उत्पादन गर्ने नयाँ प्रणाली स्थापना गर्न ठेक्का प्रक्रिया पूरा गरेको छ। भविष्यमा स्थानीय जङ्गली लसुन, मात्सुताके च्याउ र अन्य कृषि उत्पादन मिसाएर नयाँ स्वादका मसला उत्पादन गर्ने योजना अघि सारिएको छ।

युननानका एक व्यापारीले ल्याएको सानो बीउबाट शुरु भएको गुरो खुर्सानी अहिले स्थानीय उत्पादन, रोजगारी, जातीय समुदायबीचको सहकार्य र ग्रामीण समृद्धिको साझा माध्यम बनेको छ। आधुनिक कृषि प्रविधि, परम्परागत प्रशोधन शीप र सुनिश्चित बजारलाई जोडेर अघि बढाइएको यो उद्योगलाई कारुब जिल्लाभर विस्तार गर्ने लक्ष्य स्थानीय प्रशासनले राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button