रास्वपाले अराजनीतिक गतिविधि गर्दैन: सांसद समीक्षा बास्कोटा

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आफ्नो पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्।
मिडिया कार्यालयको गेटमा गाडी तेर्स्याइएको घटनालाई लिएर सरकारको चर्को आलोचना भइरहेका बेला सांसद बास्कोटाले रास्वपाको राजनीतिक चरित्रमाथि प्रश्न उठाउनुपर्ने अवस्था नरहेको धारणा व्यक्त गरेकी हुन्।
उनले भनिन्, “देशभन्दा ठूलो पार्टी हुँदैन र नागरिकभन्दा परको राजनीति हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले २१ देखि १८२ सम्मको यात्रा राजनीतिक गतिविधिबाट शुरु गरेको हो र त्यसकै आधारमा स्थापित हुँदै छ। त्यसैले अराजनीतिक गतिविधि गर्नुपर्ने कुनै आवश्यकता छैन। यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु।”
स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै सांसद बास्कोटाले यसको रक्षाका लागि रास्वपा सदैव कटिबद्ध रहेको बताइन्।
उनले थपिन्, “यो विषय हामीले शब्दमा मात्र भनेका छैनौँ, व्यवहारमा पनि रूपान्तरण गरेका छौँ। आम सञ्चार क्षेत्र र आम मानिसलाई त्रसित पार्ने काम कसैले पनि कहीँबाट नगरोस्।”





