सिंहदरबार अगाडि पक्राउ परेका अनेरास्ववियु अध्यक्ष धामीसहित सात जनाको रिहाइ माग

ड्रागन मिडिया समाचार कक्ष
सिंहदरबार अगाडि ‘राज्य आतंक बन्द गर’ भन्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित सात जनालाई तत्काल रिहा गर्न विभिन्न विद्यार्थी संगठनले संयुक्त रूपमा माग गरेका छन्।
बुधबार बिहान सिंहदरबारको दक्षिणी गेट अगाडि मोटरसाइकल पार्किङ गरी सांकेतिक प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सिंहदरबार अगाडि विद्यार्थीले मोटरसाइकल पार्किङ गरी प्रदर्शन गरेको विवरण सार्वजनिक भएको छ।
विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूलाई विनाशर्त रिहा गर्न सरकारसँग माग गरेका हुन्। उनीहरूले राज्यका गतिविधिविरुद्ध शान्तिपूर्ण तथा सांकेतिक प्रदर्शनमा सहभागी विद्यार्थीलाई पक्राउ गर्नु अनुचित भएको बताएका छन्।
पक्राउको विषय प्रतिनिधिसभामा पनि उठेको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संसदमा बोल्दै राज्यका गतिविधिविरुद्ध सांकेतिक प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाए।
उनले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिक अधिकारको सम्मान गर्नुपर्ने बताउँदै पक्राउ परेका सबै विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरे।
महरका अनुसार पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विशाल खड्का, श्रीष बुढाथोकी, जितप्रसाद सिटौला, विष्णु पुर्कोटी, सुदीप थापा र रवि मगर रहेका छन्।
विद्यार्थी संगठनहरूले शान्तिपूर्ण विरोध प्रदर्शनलाई नियन्त्रण गर्ने प्रयास नगर्न र राजनीतिक तथा नागरिक अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।





