पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम भइरहेको छ, चिन्ता नगर्न होटल व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

ड्रागन मिडिया समाचार कक्ष
प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको बताउँदै होटल व्यवसायीलाई चिन्ता नगर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुधबार होटल सङ्घ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न होटल व्यवसायीलाई आग्रह गरे।
प्रधानमन्त्री शाहले व्यवसायीलाई प्रचलित कानुनको पालना गर्दै व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी (पीपीपी) ढाँचामा गर्न सकिने सहकार्यका क्षेत्रबारे अध्ययन गर्न सुझाव दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडग राज पौडेल (गनेस) समेत सहभागी छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए।
हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको उल्लेख गर्दै उनीहरूले पर्यटक आगमन वृद्धि भए आन्तरिक रोजगारीका अवसर विस्तार हुने बताए। होटल उद्योगको विकासले नेपाली युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरूको भनाइ थियो।
हानका पदाधिकारीले नेपाललाई आरोग्य पर्यटन, विवाह गन्तव्य र सीमापार पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत माग प्रस्तुत गरे।
उनीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत महसुलमा सहुलियत उपलब्ध गराउन माग गरे। साना तथा मझौला होटलका लागि २५ बेडसम्म संक्षिप्त वातावरणीय अध्ययन गर्नुपर्ने व्यवस्था अव्यावहारिक भएको भन्दै उक्त सीमा ५० बेडसम्म पुर्याउनुपर्ने उनीहरूको माग थियो।
हानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नेपाल वायुसेवा निगमको सेवा र व्यवस्थापनमा सुधार गर्न पनि सरकारलाई आग्रह गरेको छ।
व्यवसायीले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगबापत भुक्तानी गरिने रोयल्टी रकम प्रचलित करबाहेक कुल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा बढी नहुने व्यवस्था संशोधन गर्न माग गरे। उनीहरूले रोयल्टीको रकम सम्बन्धित पक्षबीचको आपसी समझदारीका आधारमा निर्धारण गर्न मिल्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे।
होटल व्यवसायसँग सम्बन्धित अन्य कानुनको पनि समयानुकूल संशोधन तथा पुनरावलोकन गर्नुपर्ने उनीहरूको माग थियो।
नेपाललाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न विवाह समारोहका लागि विदेशबाट ल्याइने गरगहनासम्बन्धी प्रक्रिया सहज बनाउनुपर्ने हानले जनाएको छ। आरोग्य पर्यटन प्रवर्द्धनका लागि फोटो र भिडियोमा मात्र सीमित प्रचार सामग्रीभन्दा नेपालको स्वास्थ्य सेवा, प्राकृतिक वातावरण, संस्कृति र पर्यटकीय अनुभवलाई समेट्ने पूर्ण कथा प्रस्तुतिसहितका प्याकेज तयार गर्नुपर्ने सुझाव पनि व्यवसायीले दिएका छन्।
यसका लागि सम्बन्धित क्षेत्रका विज्ञ परिचालन गरी लक्षित अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने उनीहरूको भनाइ थियो।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।





