३१ असार २०८३, बुधबार

सङ्घीय संसदमा १६६ विधेयक ल्याउने सरकारको तयारी

ड्रागन मिडिया समाचार कक्ष

सरकारले विभिन्न विषयसँग सम्बन्धित १६६ वटा विधेयक सङ्घीय संसदमा पेश गर्ने तयारी गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबार राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट गरी सरकारले संसदमा पेश गर्ने तयारी गरेका विधेयकहरूको सूची बुझाएकी हुन्।

अध्यक्ष दाहालको सचिवालयका अनुसार मन्त्री गौतमले सरकारका तर्फबाट तयारी भइरहेको १६६ वटा विधेयकको सूची हस्तान्तरण गर्दै आवश्यकता र प्राथमिकताका आधारमा ती विधेयक संसदमा पेश गरिने जानकारी दिएकी थिइन्।

भेटमा अध्यक्ष दाहालले सरकारले संसदमा पेश गर्नुपर्ने विधेयकहरूको तयारी गरिरहेको जानकारी पाउँदा खुसी लागेको बताए।

संविधान कार्यान्वयनका लागि अझै धेरै कानुन निर्माण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले सङ्घीय संसदलाई पर्याप्त विधायिकी काम आवश्यक रहेको बताए। सरकारका तर्फबाट आवश्यक विधेयक सकेसम्म छिटो संसदमा पेश गर्न पनि उनले आग्रह गरे।

अध्यक्ष दाहालले देश र नागरिकलाई सहज हुने गरी छिटोछरितो रूपमा ऐन तथा कानुन निर्माण गर्न सबै पक्षको सकारात्मक पहल आवश्यक रहेको बताए।

उनले सरकारले धेरैभन्दा धेरै विधेयक संसदमा पेश गरे राष्ट्रिय सभाले कानुन निर्माणको प्रक्रियामा अनावश्यक ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटमा मन्त्री गौतमले संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता निर्धारणसहित आवश्यक तयारी भइरहेको जानकारी दिइन्।

उनले सङ्घीय संसदलाई विधायिकी कामविहीन हुन नदिने गरी सरकारले विधेयकहरू क्रमशः पेश गर्ने बताइन्।

सरकारले तयार पारेको सूचीमा कुन कुन विधेयक समावेश छन् र तीमध्ये कुन विधेयकलाई पहिलो प्राथमिकतामा राखिएको छ भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button