नेपालगञ्ज म्याराथनको तीन सदस्यीय टोली मलेसियातर्फ

ड्रागन मिडिया सम्वाददाता
धारा नेपालगञ्ज म्याराथनको तीन सदस्यीय टोली स्कोर म्याराथनमा सहभागी हुन बुधबार मलेसिया प्रस्थान गरेको छ।
मलेसियाको राजधानी क्वालालम्पुर नजिकैको पुत्रजयामा यही जुलाई १८ र १९ मा आयोजना हुने वर्ल्ड एथलेटिक्स रोड रेस लेबलप्राप्त स्कोर म्याराथनमा सहभागी हुन टोली त्यसतर्फ प्रस्थान गरेको हो।
टोलीमा गगन थापा, सुरज विक्रम आले र निर्मल लम्साल रहेका छन्। मलेसियाकै सबैभन्दा ठूलो दौड प्रतियोगितामध्ये एक मानिने स्कोर म्याराथनको ४२.१९५ किलोमिटर पूर्ण म्याराथनमा लम्सालले प्रतिस्पर्धा गर्नेछन्।
लम्सालले ११औँ धारा नेपालगञ्ज म्याराथनमा ३ घण्टा २६ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै १२औँ स्थान हासिल गरेका थिए।
स्कोर म्याराथनमा करिब ५० हजार धावक सहभागी हुने अपेक्षा गरिएको छ। टोलीका सदस्य गगन र सुरजले ठूलो म्याराथन प्रतियोगिताको व्यवस्थापन पक्षको अवलोकन गर्नुका साथै पाँच किलोमिटर दौडमा समेत भाग लिनेछन्।
स्कोर म्याराथन धारा नेपालगञ्ज म्याराथनको साझेदार म्याराथन हो। प्रतिभाशाली खेलाडी, अफिसियल तथा स्वयंसेवकलाई अन्तर्राष्ट्रिय अवसर र अनुभव प्रदान गर्ने उद्देश्यले धारा नेपालगञ्ज म्याराथनले मलेसियाको स्कोर म्याराथनसँगै थाइल्यान्डको बाङ्सेन म्याराथन सिरिजलगायत विभिन्न देशका म्याराथनसँग सहकार्य गरेको छ।
धारा नेपालगञ्ज म्याराथन हालै विश्वभरका म्याराथन तथा दूरी दौडहरूको संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेज (एआईएमएस) बाट ‘एआईएमएस सोशल अवार्ड २०२६’ द्वारा सम्मानित भएको थियो।





