३२ असार २०८३, बिहीबार

ठमेलबाट अनलाइन सट्टाबाजी खेलाउने दुई एजेन्ट पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँको ठमेल क्षेत्रबाट अनलाइन जुवा तथा सट्टाबाजी खेलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टाबाजी खेल्ने तथा खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मङ्गलबार राति करिब १० बजे काठमाडौँ महानगरपालिका वडा नम्बर २६ स्थित ठमेलको नरसिंह चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ घर भई हाल ठमेल बस्ने ३३ वर्षीय उत्सव कटुवाल र सोही नगरपालिकाको वडा नम्बर ६ घर भई हाल ठमेलमै बस्ने ३० वर्षीय साजन तामाङ रहेका छन्।

प्रहरीले उनीहरूको खानतलासी गर्दा दुई थान मोबाइल फोन बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘वानएक्सबेट’ लगायत विभिन्न बेटिङ वेबसाइट प्रयोग गरी ठूलो परिमाणमा रकम हारजित हुने गरी अनलाइन जुवा तथा सट्टाबाजी खेलाउने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि सट्टाबाजी गर्न वा गराउन नहुने कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button