३२ असार २०८३, बिहीबार

२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीमा स्याटेलाइट रेडियो कलर जडान

ड्रागन मिडिया समाचार कक्ष

चितवन राष्ट्रिय निकुञ्जले २५ जनाको ज्यान लिइसकेको जङ्गली हात्ती ‘ध्रुवे’लाई बेहोस बनाएर स्याटेलाइट रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा निरन्तर मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको हात्तीको गतिविधि प्रभावकारी रूपमा निगरानी गर्न नयाँ रेडियो कलर जडान गरिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राविधिक टोलीले हात्तीलाई डार्टमार्फत बेहोस बनाएर घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरेको हो। त्यसक्रममा हात्तीका दाह्रा पनि छोट्याएर पुनः प्राकृतिक बासस्थानमा छाडिएको छ।

स्याटेलाइट रेडियो कलरबाट हात्तीको अवस्थिति र गतिविधिबारे छोटो समयमै जानकारी प्राप्त गर्न सकिनेछ। जीपीएस ट्र्याकिङमार्फत हात्ती बस्तीतर्फ आउन थालेको जानकारी पाएपछि स्थानीय बासिन्दालाई समयमै सचेत गराउन र सम्भावित मानवीय क्षति रोक्न सहयोग पुग्ने निकुञ्जको अपेक्षा छ। यसअघि प्रयोग गरिएको रेडियो कलरको प्रभावकारितामा समस्या देखिएपछि नयाँ प्रणाली जडान गर्ने तयारी गरिएको थियो।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सम्मिलित टोलीले रेडियो कलर जडान तथा दाह्रा छोट्याउने काम गरेको हो।

गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो। उक्त घटनापछि ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको पुष्टि भएको संख्या २५ पुगेको निकुञ्जले जनाएको छ।

घटनापछि निकुञ्जले हात्तीको खोजी र निगरानी तीव्र बनाएको थियो। तर प्रतिकूल मौसम, घना झाडी र हात्तीले मानिसको गतिविधि थाहा पाएपछि स्थान परिवर्तन गर्ने प्रवृत्तिका कारण नियन्त्रणमा लिन समय लागेको निकुञ्जका अधिकारीहरूले बताएका छन्।

ध्रुवेको घाँटीमा यसअघि पनि पटकपटक रेडियो कलर जडान गरिएको थियो। तर उपकरण निष्क्रिय हुने वा हात्तीले फालिदिने गरेका कारण निरन्तर निगरानीमा समस्या आउने गरेको थियो। सन २०२३ मा पनि यसको घाँटीमा रेडियो कलर जडान गरिएको थियो।

निकुञ्जले मध्यवर्ती तथा आसपासका बासिन्दालाई सतर्क रहन, निकुञ्जले जारी गर्ने सूचनाको पालना गर्न र जङ्गली हात्ती बस्तीनजिक देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ। नयाँ स्याटेलाइट रेडियो कलरले ध्रुवेको गतिविधि नियमित रूपमा अनुगमन गर्न र मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button