पाँच प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

ड्रागन मिडिया समाचार कक्ष
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बिहीबार विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षासँगै केही स्थानमा ठूलो वर्षा हुने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरमा नेपालको तराई भूभाग नजिक तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ। विभागले बिहीबार, जुलाई १६ का लागि मौसमसम्बन्धी चेतावनीसमेत जारी गरेको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा वर्षा हुने अनुमान छ। मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका पहाडी एवं तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





