३२ असार २०८३, बिहीबार

एआईद्वारा सिर्जित कन्टेन्ट पहिचान गर्न टिकटकले नेपालमा साक्षरता हब सञ्चालन गर्ने

ड्रागन मिडिया समाचार कक्ष

टिकटकले कृत्रिम बुद्धिमत्ता अर्थात एआईद्वारा सिर्जना वा उल्लेखनीय रूपमा परिमार्जन गरिएका कन्टेन्ट पहिचान गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालन गर्ने भएको छ।

कम्पनीले सुरक्षित डिजिटल अनुभव प्रवर्द्धन गर्न नयाँ शैक्षिक सामग्री, एआईद्वारा सिर्जित स्पाम पहिचान गर्ने उन्नत प्रणाली र विश्वसनीय संस्थासँगको सहकार्य विस्तार गर्न लागेको जनाएको छ।

आगामी केही साताभित्र सञ्चालनमा ल्याइने हबमा प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा एआईद्वारा सिर्जना गरिएको कन्टेन्ट पहिचान गर्ने तरिका, डिजिटल सामग्रीको विश्वसनीयता मूल्याङ्कन गर्ने उपाय र एआई टुल जिम्मेवारीपूर्वक प्रयोग गर्नेबारे व्यावहारिक जानकारी पाउनेछन्।

टिकटकले न्युज एन्ड मिडिया लिटरेसी एलायन्स र डिपफेक अनुसन्धानकर्ता हेनरी अज्डरसँगको सहकार्यमा एआई प्रविधि बुझ्न तथा एआई टुलको जिम्मेवार प्रयोग गर्न सहयोग गर्ने निर्देशिका तयार गरेको छ। कम्पनीको आधिकारिक घोषणाअनुसार नयाँ हबमा सोही निर्देशिकामा आधारित शैक्षिक सामग्री उपलब्ध गराइनेछ।

कम्पनीले नोफिल्टर र रास्पबेरी पाई फाउन्डेसनलगायत संस्थासँग पनि एआई साक्षरता प्रवर्द्धनका लागि सहकार्य गरिरहेको जनाएको छ। नोभेम्बर २०२५ मा शुरु भएको कार्यक्रमअन्तर्गत साझेदार संस्थाले तयार गरेका सामग्रीले २० करोडभन्दा बढी भ्युज प्राप्त गरेको र कार्यक्रममा हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी प्रतिबद्ध गरिएको टिकटकको भनाइ छ।

जेनेरेटिभ एआईले सिर्जनात्मक अभिव्यक्ति र कथा प्रस्तुतिका नयाँ सम्भावना खोले पनि त्यसको दुरुपयोग गरी ठूलो परिमाणमा स्पाम तथा भ्रामक कन्टेन्ट उत्पादन हुन सक्ने जोखिम बढेको कम्पनीले जनाएको छ।

टिकटकका अनुसार सन २०२६ को पहिलो तीन महिनामा मात्र आठ करोड ६० लाखभन्दा बढी नक्कली अकाउन्ट हटाइएका छन्। कम्पनीले अब एआईद्वारा सिर्जित स्पाम नियमित रूपमा प्रकाशन गर्ने अकाउन्ट पहिचान गर्न सुधारिएको प्रणाली परीक्षण गर्ने भएको छ।

नयाँ प्रणाली विशेषगरी राजनीति तथा समसामयिक घटना, वित्तीय सुझाव र स्वास्थ्यसम्बन्धी जानकारीमा केन्द्रित हुनेछ। यी क्षेत्रमा एआईको प्रयोगबाट भ्रामक सामग्री फैलिँदा सार्वजनिक विश्वास र जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले थप निगरानी आवश्यक रहेको कम्पनीको भनाइ छ।

टिकटकले एआईद्वारा सिर्जना वा उल्लेखनीय रूपमा सम्पादन गरिएका भिडियो स्पष्ट रूपमा चिनाउन प्रयोग हुने प्रविधि पनि विस्तार गरिरहेको छ। कम्पनी दुई वर्षअघि सीटुपीए कन्टेन्ट क्रेडेन्सियल्स प्रयोग गर्ने पहिलो भिडियो प्लेटफर्म बनेको थियो र हाल सीटुपीए स्टेयरिङ कमिटीमा समेत आबद्ध भएको छ।

कन्टेन्ट क्रेडेन्सियल्सले कुनै डिजिटल सामग्री कसरी सिर्जना वा सम्पादन गरिएको हो भन्ने जानकारी सुरक्षित रूपमा जोड्न सहयोग गर्छ। टिकटकका अनुसार कन्टेन्ट क्रेडेन्सियल्स, क्रियटरले आफैँ प्रयोग गर्ने लेबल र कम्पनीको अदृश्य वाटरमार्क प्रविधिको संयोजनबाट हालसम्म तीन अर्बभन्दा बढी भिडियोमा एआईसम्बन्धी लेबल लगाइएको छ।

नेपालमा एआईसम्बन्धी शैक्षिक तथा सिर्जनात्मक कन्टेन्ट बनाउने अश्विन नेउपानेजस्ता क्रियटर र टेकपानाजस्ता डिजिटल प्लेटफर्मलाई टिकटकले स्थानीय प्रयोगको उदाहरणका रूपमा उल्लेख गरेको छ। उनीहरूले ट्युटोरियल, प्रदर्शन र दृश्य कथामार्फत जटिल एआई प्रविधिलाई स्थानीय दर्शकका लागि सरल बनाउने प्रयास गरिरहेको कम्पनीको भनाइ छ।

टिकटकले स्मार्ट स्प्लिट र एआई आउटलाइनजस्ता सिर्जनात्मक टुल विकासमा पनि लगानी गरिरहेको जनाएको छ। ‘म्यानेज टपिक्स’ सुविधामार्फत प्रयोगकर्ताले आफ्नो फिडमा एआईद्वारा सिर्जित कन्टेन्ट कति मात्रामा हेर्न चाहन्छन् भन्ने प्राथमिकता व्यवस्थापन गर्न सक्नेछन्।

एआई प्रविधिको प्रयोग बढेसँगै डिजिटल सामग्रीको उत्पत्ति, सम्पादन प्रक्रिया र विश्वसनीयताबारे पारदर्शिता कायम गर्नु सामाजिक सञ्जाल प्लेटफर्मका लागि प्रमुख चुनौती बनेको छ। टिकटकले शिक्षा, कन्टेन्ट लेबलिङ, स्पाम नियन्त्रण र प्रयोगकर्ताको छनोटसम्बन्धी प्रणालीलाई विस्तार गर्दै सुरक्षित तथा जिम्मेवार एआई प्रयोगलाई प्रवर्द्धन गर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button