पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङको यातायात ठप्प

ड्रागन मिडिया समाचार कक्ष
पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
जैमिनी नगरपालिका–८ को बेलबगरमा पहिरोसँगै खसेको गेग्रानले सडक अवरुद्ध भएपछि करिडोर हुँदै सञ्चालन हुने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको छ।
निरन्तर पहिरो र गेग्रान खसिरहेकाले सडक खुलाउने काममा कठिनाइ भएको प्रहरीले जनाएको छ।
करिडोर अवरुद्ध भएपछि बागलुङको दक्षिणी भेगको यातायात सेवा ठप्प भएको छ। बुटवलतर्फ जाने सवारीसाधन बेलबगरमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।
पहिरो पूर्ण रूपमा हटाएर सडक सुरक्षित बनाएपछि मात्र यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ।





