३२ असार २०८३, बिहीबार

हृदयाघातपछि अष्टलक्ष्मी शाक्यको आकस्मिक एन्जियोप्लास्टी


ड्रागन मिडिया समाचार कक्ष

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयाघात भएपछि आकस्मिक रूपमा एन्जियोप्लास्टी गरिएको छ।

छाती दुख्ने समस्या देखिएपछि बिहीबार बिहान ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकी शाक्यको परीक्षण गर्दा एक्युट मायोकार्डियल इन्फार्क्सन अर्थात तीव्र हृदयाघात भएको पत्ता लागेको थियो। त्यसलगत्तै चिकित्सकहरूले आकस्मिक एन्जियोप्लास्टी गरेका हुन्।

प्रतिष्ठानको मुटुरोग विभागका प्रमुख डा. अशोक अधिकारीका अनुसार शाक्यलाई बिहान छाती दुखेपछि अस्पताल ल्याइएको थियो। परीक्षणबाट हृदयाघात भएको पुष्टि भएपछि अवरुद्ध वा साँघुरिएको कोरोनरी धमनीमा रक्तप्रवाह सहज बनाउन एन्जियोप्लास्टी गरिएको हो।

उपचारमा डा. अधिकारीसहित डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीको चिकित्सकीय टोली संलग्न थियो। एन्जियोप्लास्टीपछि शाक्यलाई सघन उपचार कक्षमा राखेर थप उपचार तथा निगरानी भइरहेको छ।

हृदयाघातका क्रममा मुटुमा रगत पुर्‍याउने धमनीमा अवरोध उत्पन्न हुन सक्छ। एन्जियोप्लास्टीमार्फत त्यस्तो धमनीलाई फराकिलो बनाई मुटुतर्फको रक्तप्रवाह पुनः सञ्चालन गर्ने प्रयास गरिन्छ।

शाक्य नेपालकी पहिलो महिला मुख्यमन्त्री हुन्। उनी सन् २०२१ अगस्ट १८ देखि अक्टोबर २७ सम्म बागमती प्रदेशको मुख्यमन्त्री थिइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button