३२ असार २०८३, बिहीबार

विमान परिचारिकामाथि हातपात गरेको आरोपपछि एयर इन्डियाको दिल्ली उडान रोकियो

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा एक यात्रुले विवाद गर्दै विमान परिचारिकामाथि हातपात गरेको आरोपपछि उडान रोकिएको छ।

विमानस्थल श्रोतका अनुसार बिहीबार साँझ ५:३० बजे उड्ने तालिका रहेको एयर इन्डियाको एआई–२२० उडानका एक यात्रुले विमान उड्ने तयारीमा रहेका बेला शौचालय जान खोजेका थिए। विमान परिचारिकाले उडानको संवेदनशील चरणमा शौचालय प्रयोग गर्न नमिल्ने जानकारी दिएपछि यात्रुले विवाद शुरु गरेको बताइएको छ।

विवादका क्रममा ती यात्रुले विमान परिचारिकामाथि हातपातसमेत गरेको विमानस्थल श्रोतको दावी छ। घटनापछि विमानका चालकले उडानका लागि अघि बढिसकेको विमानलाई टेकअफ नगराई पार्किङ क्षेत्रमा फर्काएका थिए।

सम्बन्धित यात्रुलाई विमानबाट ओरालेर विमानस्थलका सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको श्रोतले जनाएको छ।

यात्रुलाई विमानबाट हटाएपछि अन्य यात्रुसहित विमान पुनः उडाउने तयारी गरिएको थियो। उडानसम्बन्धी प्रत्यक्ष विवरणमा एआई–२२० को निर्धारित प्रस्थान समय साँझ ५:३० बजे रहेकामा नयाँ प्रस्थान समय साँझ ६:५० बजे कायम गरिएको देखिएको छ।

घटनाबारे एयर इन्डिया, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन वा विमानस्थल सुरक्षा कार्यालयले औपचारिक विज्ञप्ति सार्वजनिक गरिसकेका छैनन्। यात्रुको परिचय, राष्ट्रियता र उनीमाथि लगाइने अभियोगबारे पनि आधिकारिक विवरण आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button