पूर्व शिक्षामन्त्री तथा राप्रपाका वरिष्ठ नेता फतेह सिँह थारुको निधन

ड्रागन मिडिया समाचार कक्ष
नेपालका पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता फतेह सिँह थारुको बिहीबार निधन भएको छ। उनको निधनसँगै बाँकेले अनुभवी राजनीतिक नेता, पूर्वसांसद तथा शैक्षिक अभियन्ता गुमाएको छ।
पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म सक्रिय रहेका थारुले शिक्षा तथा संस्कृति मन्त्रालयसहित विभिन्न सरकारी जिम्मेवारी सम्हालेका थिए। उनी २०४३ सालमा बाँकेबाट राष्ट्रिय पञ्चायत सदस्य र २०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
थारुको राजनीतिक यात्रा स्थानीय तहबाट शुरु भएको थियो। उनी प्रधानपञ्च, बाँके जिल्ला पञ्चायत सदस्य तथा सभापति हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका थिए।
राजनीतिक भूमिकासँगै बाँकेको शैक्षिक विकासमा उनले महत्त्वपूर्ण योगदान पुर्याएका थिए। जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा विद्यालय स्थापना, विद्यालयका लागि जमिन व्यवस्थापन, शिक्षकको व्यवस्था तथा विद्यालयको स्तरोन्नतिमा उनको सक्रिय भूमिका रहेको थियो।
विशेषगरी बाँके क्षेत्र नम्बर ३ मा शिक्षाको पहुँच विस्तार र स्थानीय संस्थाहरूको विकासमा पुर्याएको योगदानका कारण उनलाई राजनीतिक नेतासँगै सामाजिक तथा शैक्षिक अभिभावकका रूपमा समेत स्मरण गरिएको छ।
उनको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता, शिक्षा क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।





