१ श्रावण २०८३, शुक्रबार

वीरेन्द्रनगरमा ‘शैक्षिक सुधार वर्ष’: एआईदेखि डिजिटल शिक्षक बैंक र छात्रवृत्तिसम्म

ड्रागन मिडिया समाचार कक्ष

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै विद्यालय शिक्षामा रूपान्तरण ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि सारेको छ।

नगरपालिकाले विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शिक्षक बैंक, स्टिम शिक्षा, कार्यसम्पादन करार र दुई करोड रुपैयाँको छात्रवृत्ति कोष सञ्चालनलगायत कार्यक्रम कार्यान्वयन गर्ने भएको हो। वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न दशवर्षे शिक्षा क्षेत्र योजना पनि लागू गरिएको छ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार विद्यालय शिक्षालाई समयानुकूल बनाउन सूचना प्रविधि, अनुसन्धान, नवप्रवर्तन, सीपमूलक शिक्षा र एआईको प्रयोगलाई प्राथमिकता दिइनेछ। माध्यमिक विद्यालयहरूमा स्टिम अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षाको विस्तार गर्दै विज्ञान, सूचना प्रविधि, गणित, संगीत र योगसम्बन्धी आधुनिक प्रयोगशाला स्थापना गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ।

सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव कम गर्न नगरपालिकाले ‘डिजिटल शिक्षक बैंक’ स्थापना गर्ने नीति लिएको छ। विद्यालयमा रिक्त शिक्षक पदमा यही बैंकमार्फत योग्य शिक्षक छनोट गरिनेछ।

विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव न्यूनीकरण गर्न नगरस्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप आधुनिक र प्रभावकारी बनाइनेछ। विद्यार्थीको चाप बढी भएका विद्यालयमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई परीक्षणका रूपमा स्वयंसेवक शिक्षक परिचालन गर्ने कार्यक्रम पनि अघि सारिएको छ।

नगरपालिकाले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय शिक्षाको आधारका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यस अन्तर्गत बालविकास कक्षाको भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइ मापदण्डमा सुधार गरी बालबालिकाको सिकाइको आधार बलियो बनाइनेछ।

आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा दुई करोड रुपैयाँको छात्रवृत्ति कोष सञ्चालन गरिनेछ। उक्त कोषमार्फत नगरभित्रका योग्य विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहायता उपलब्ध गराइनेछ।

नगरपालिकाले ‘म बनाउँछु, मेरो नगर शिक्षा विकास कोष’ मा रहेको रकम परिचालन गरी लक्षित वर्गका बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिने नीति पनि लिएको छ। अटिजम भएका बालबालिकाका लागि प्रारम्भिक सिकाइ केन्द्र स्थापना गर्ने कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

विद्यालय र शिक्षकलाई विद्यार्थीको सिकाइ उपलब्धिप्रति थप जवाफदेही बनाउन प्रधानाध्यापक तथा शिक्षकसँग कार्यसम्पादन करार गरिनेछ। विद्यालयको वार्षिक नतिजाका आधारमा स्तरीकरण गरी आवश्यकताअनुसार सामुदायिक विद्यालयमा लगानी बढाउने योजना नगरपालिकाको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पससँग सहकार्य गरी शिक्षक मेन्टरिङ तथा प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीको क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

नगरपालिकाले निवृत्त शिक्षक तथा कर्मचारीलाई समेटेर ‘वीरेन्द्रनगर थिङ्क ट्याङ्क’ स्थापना गर्ने भएको छ। उक्त समूहबाट नगरको शैक्षिक नीति, योजना र सुधारका कार्यक्रमबारे सुझाव तथा परामर्श लिइनेछ।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने शिक्षकको क्षमता विकासका लागि आवश्यक तालिम सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयको सिकाइ उपलब्धि सुधारमा सहयोग गर्न इच्छुक गैरसरकारी संस्था तथा निजी शैक्षिक संस्थासँग साझेदारी गर्ने नीति पनि नगरपालिकाले लिएको छ।

नगरप्रमुख स्वयं विद्यालयका कक्षाकोठामा पुगेर विद्यार्थीसँग अन्तर्क्रिया गर्ने ‘कक्षाकोठामा नगरप्रमुख’ कार्यक्रम पनि आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ।

नगरपालिकाले अघि सारेका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा विषयगत शिक्षकको अभाव कम गर्न, विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार गर्न तथा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि र जवाफदेहिता सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button