१ श्रावण २०८३, शुक्रबार

दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन् : ओली

ड्रागन मिडिया समाचार कक्ष

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले गराएको भन्ने विवरण सत्य नभएको दाबी गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टीको वेबसाइट तथा मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डलगत्तै दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर ‘रेडिमेड कथा’ विश्वव्यापी रूपमा फैलाइएको बताए।

राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका सदस्यको ज्यान गएको घटनालाई तत्कालीन युवराज दीपेन्द्रसँग जोडेर लामो समयसम्म गलत सूचना फैलाइएको ओलीको भनाइ थियो।

उनले भने, “२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। घटनालगत्तै दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर एउटा रेडिमेड कथा तयार गरियो र विश्वव्यापी रूपमा फैलाइयो। २०औँ वर्षसम्म त्यही गलत सूचनाले एकछत्र राज गर्‍यो। सही सूचना के हो भन्ने अझै थाहा छैन।”

ओलीले उक्त कथाको रचनाकार र मूल श्रोतबारे समेत अहिलेसम्म स्पष्ट जानकारी नरहेको बताए। विश्वका प्रमुख सञ्चारमाध्यमले घटनाबारे स्वतन्त्र रूपमा बुझ्ने प्रयास नगरी तत्काल फैलाइएको विवरणलाई नै प्रचार गरेको उनको आरोप थियो।

“एउटा कथा रचना भयो र वाचन गरियो। त्यो एकैपटक विश्वव्यापी रूपमा फैलियो,” ओलीले भने, “विश्वका प्रमुख सञ्चारमाध्यमले यति ठूलो घटनाबारे थप बुझ्नुपर्ने आवश्यकता नठानी त्यही अफवाह बोकेर हिँड्नु अनौठो विषय हो। वास्तवमा त्यो सूचना सही होइन।”

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय छानबिन समितिले दीपेन्द्रलाई घटनाको जिम्मेवार ठहर गरेको थियो। उक्त निष्कर्षप्रति भने घटनाको शुरुवातदेखि नै सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका छन्।

ओलीले दरबार हत्याकाण्डको वास्तविकता अझै खुल्न नसकेको उल्लेख गरे पनि आफ्नो दाबीलाई पुष्टि गर्ने कुनै नयाँ प्रमाण वा वैकल्पिक घटनाक्रम भने सार्वजनिक गरेनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button