१ श्रावण २०८३, शुक्रबार

‘ह्यान्ड्स अफ एसिया’ सम्मेलनमा प्रचण्डको असंलग्नता र समाजवाद निर्माणमा जोड


ड्रागन मिडिया समाचार कक्ष

इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) र ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्चको आयोजनामा श्रीलंकाको कोलम्बोमा तीनदिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन जारी छ।

‘सार्वभौमिकता र ऐक्यबद्धताका लागि जनताको आह्वान’ भन्ने सन्देशसहित जुलाई १६ देखि १८ सम्म आयोजना गरिएको सम्मेलनमा एसियासहित विभिन्न क्षेत्रका कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा जनआन्दोलनका प्रतिनिधि सहभागी छन्।

सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व शक्ति–सन्तुलनका बीच असंलग्न नीति, क्षेत्रीय सहकार्य र समाजवाद निर्माणमा जोड दिए।

एसियाका कम्युनिस्ट तथा क्रान्तिकारी आन्दोलनले हासिल गरेका ऐतिहासिक उपलब्धि र तिनबाट सिकिएका कठिन पाठबारे चर्चा गर्दै उनले महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धा र दबाबका बीच विकासशील तथा उत्पीडित राष्ट्रहरूले स्वतन्त्र नीति कायम गर्नुपर्ने बताए।

उनले असंलग्नता निष्क्रिय तटस्थता नभई राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्र निर्णय क्षमता र समाजवादी विकासको आधार भएको धारणा राखे। बदलिँदो विश्व व्यवस्थामा एसियाली देशहरूबीच सन्तुलित सम्बन्ध, जनपक्षीय अर्थनीति र पारस्परिक ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

सम्मेलनलाई सम्बोधन गर्दै श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण कार्यक्रम र त्यससँग जोडिएका कठोर सर्तका बीच जनपक्षीय विकासको मार्ग पहिल्याउनुपर्ने चुनौतीबारे धारणा राखे। पाताबेन्दी श्रीलंकाको वर्तमान वातावरणमन्त्री हुन्।

भारतीय मार्क्सवादी इतिहासकार तथा पत्रकार विजय प्रशादले विश्वभर बढिरहेको सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई परस्पर सम्बन्धित घटनाक्रमका रूपमा विश्लेषण गरे। उनले यी प्रवृत्तिलाई संकटग्रस्त विश्व आर्थिक तथा साम्राज्यवादी संरचनाका अभिव्यक्तिका रूपमा प्रस्तुत गरेका थिए।

प्रशाद ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्चका कार्यकारी निर्देशक हुन्। उनी विश्व राजनीति, साम्राज्यवाद, ग्लोबल साउथ र समाजवादी आन्दोलनसम्बन्धी विषयका लेखक तथा अध्येता हुन्।

सम्मेलनका विभिन्न सत्रमा एसियाको सार्वभौमिकता, सैन्यीकरण, वैदेशिक ऋण, क्षेत्रीय सुरक्षा, समाजवादी निर्माण तथा वामपन्थी शक्तिहरूबीचको सहकार्यबारे छलफल भइरहेको छ।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्मेलनका क्रममा प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले सम्मेलनको साइडलाइनमा क्युबा, भेनेजुएला र ब्राजिललगायत ल्याटिन अमेरिकी देशका वामपन्थी प्रतिनिधिसँग भेटवार्ता गरेको उनको सचिवालयसम्बद्ध विवरणमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button