२ श्रावण २०८३, शनिबार

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

ड्रागन मिडिया समाचार कक्ष

जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरमा नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षा हुने सम्भावना छ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार राति देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुन सक्ने भएकाले विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने विभागले चेतावनी दिएको छ। प्रतिकूल मौसमबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आधिकारिक मौसम सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

विभागको पछिल्लो विवरणअनुसार सिन्धुपाल्चोकको मेलम्ची–घ्याङ क्षेत्रमा पछिल्लो २४ घण्टामा १०४ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले चरम मौसम र बाढी सम्बन्धी सूचनाका लागि निःशुल्क टेलिफोन नम्बर ११५५ समेत सञ्चालनमा रहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button