२ श्रावण २०८३, शनिबार

शिक्षकको गरिमामाथि आँच पुगेको भन्दै प्रियंका र दुर्गेशले मागे माफी, ‘मास्टर्नी’को गीत हटाइयो

ड्रागन मिडिया समाचार कक्ष

निर्माणाधीन चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ गीत विवादमा परेपछि अभिनेत्री तथा निर्मात्री प्रियंका कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा क्षमायाचना गर्दै गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाएका छन्।

गीतमा प्रयोग गरिएका शब्द र दृश्यले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक र शिक्षण पेशाको गरिमामा आँच पुर्‍याएको भन्दै व्यापक आलोचना भएको थियो। नेपाल शिक्षक महासंघले समेत गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव प्रयोग गरिएको ठहर गर्दै यसको सार्वजनिक प्रदर्शन तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न माग गरेको थियो।

अभिनेत्री कार्कीले गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई प्रचारप्रसारका लागि मात्र तयार गरिएको स्पष्ट पारेकी छन्। गीतका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका तथा शिक्षण पेशासँग सम्बन्धित व्यक्तिहरूको सम्मानमा चोट पुगेको भन्ने गुनासोलाई आफूले गम्भीर रूपमा लिएको उनको भनाइ छ।

आफ्नो पहिलो चलचित्र निर्माण प्रयासमा कुनै पेशा, समुदाय वा व्यक्तिको सम्मानमा ठेस पुर्‍याउने उद्देश्य नरहेको उल्लेख गर्दै कार्कीले अन्जानमा भएको त्रुटिप्रति नेपाल शिक्षक महासंघ र सम्पूर्ण शिक्षक समुदायसँग क्षमायाचना गरेकी छन्।

उनले विवादित गीत आफ्नो युट्युब च्यानल तथा सामाजिक सञ्जालबाट हटाइसकिएको जानकारी दिँदै आगामी दिनमा विषयवस्तु र प्रस्तुति छनोट गर्दा थप जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

गायक थापाले पनि गीतका शब्द र दृश्यात्मक प्रस्तुतिका कारण शिक्षक तथा दर्शकको भावनामा चोट पुगेको स्वीकार गरेका छन्। प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाइएको उनले बताएका छन्।

शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानित व्यक्तित्व भएको उल्लेख गर्दै थापाले कुनै पेशा वा व्यक्तिको भावनामा चोट पुर्‍याउने उद्देश्य नरहेको र आगामी दिनमा थप जिम्मेवार तथा उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रियंका कार्कीको निर्माण कम्पनी आयंका फिल्म्स र दुर्गेश थापाले छुट्टाछुट्टै वक्तव्य जारी गरी गीत हटाइएको तथा शिक्षक र दर्शकसँग क्षमायाचना गरिएको जानकारी दिएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button