२ श्रावण २०८३, शनिबार

लेबलविहीन र चोरी पैठारीका जुत्ता–चप्पल बिक्री नगर्न विभागको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका, नक्कली, गुणस्तरहीन तथा चोरी पैठारी गरिएका जुत्ता, चप्पललगायत फुटवेयर उत्पादन बिक्री–वितरण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

विभागले यस्ता उत्पादन भौतिक पसलका साथै वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत समेत बिक्री भइरहेको विषयमा विभिन्न माध्यमबाट उजुरी र गुनासा प्राप्त भएको जनाएको छ।

शुक्रबार सूचना जारी गर्दै विभागले फुटवेयर उत्पादनसँग सम्बन्धित उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई प्रचलित कानुनले तोकेका दायित्व, शर्त र बन्देज पालना गरेर मात्र उद्योग तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ अनुसार उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा तोकिएको विवरणसहित लेबल लगाउनुपर्छ। कानुनअनुसार आवश्यक लेबल नभएका वस्तु नेपालमा पैठारी, बिक्री तथा वितरण गर्न पाइँदैन।

त्यसैगरी, ऐनको दफा ८ मा पैठारीकर्ताको दायित्व र दफा ११ मा बिक्रेताले पालना गर्नुपर्ने जिम्मेवारीसम्बन्धी व्यवस्था छ। यी प्रावधानले उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र कानुनसम्मत वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेका छन्।

विभागले नक्कली, गुणस्तरहीन, लेबलविहीन वा गैरकानुनी रूपमा पैठारी गरिएका फुटवेयर उत्पादनको उत्पादन, ढुवानी, सञ्चय, प्रचारप्रसार तथा बिक्री–वितरण नगर्न चेतावनी दिएको छ।

कानुनविपरीत गतिविधि गरेको पाइए सम्बन्धित उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता वा बिक्रेतामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button