२ श्रावण २०८३, शनिबार

पशु अस्पताल तथा पशु सेवा कार्यालयको बजेट खर्च न्यून

ड्रागन मिडिया समाचार कक्ष

आर्थिक वर्ष २०८२/८३ मा पशु अस्पताल तथा पशु सेवा कार्यालयको बजेट खर्च अपेक्षाकृत न्यून भएको छ।

कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्ड पूरा हुने गरी सेवाग्राहीबाट प्रस्तावना पेश हुन नसक्दा विशेष प्राथमिकता दिइएका केही कार्यक्रम सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ।

निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाका अनुसार कार्यालयका लागि गत आर्थिक वर्षमा कुल चार करोड ७३ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

कार्यालयले समग्र वित्तीय प्रगति ५७ दशमलव ९० प्रतिशत रहेको जनाएको छ। यद्यपि, कार्यालयबाट उपलब्ध गराइएको शीर्षकगत बजेट र खर्च विवरणका आधारमा गणना गर्दा कुल खर्च तीन करोड १४ लाख १२ हजार रुपैयाँ अर्थात ६६ दशमलव ३५ प्रतिशत देखिन्छ। यससम्बन्धी तथ्याङ्क कार्यालयबाट थप पुष्टि हुन बाँकी छ।

पुँजीगततर्फ विनियोजित ४० लाख रुपैयाँमध्ये ३९ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। यो विनियोजित बजेटको झन्डै शतप्रतिशत हो।

चालुतर्फ चार करोड ३३ लाख ४३ हजार रुपैयाँ विनियोजन भएकामा दुई करोड ७४ लाख १३ हजार रुपैयाँ मात्र खर्च भएको कार्यालयले जनाएको छ।

पशुपन्छी श्रोत केन्द्रसम्बन्धी कार्यक्रमका लागि विनियोजित एक करोड ५५ लाख रुपैयाँ भने खर्च हुन नसकी फिर्ता गएको छ।

कार्यालयका अनुसार सेवाग्राहीहरूले कार्यक्रमका लागि प्रस्तावना पेश गरे पनि कुनै पनि प्रस्तावले कार्यक्रम सञ्चालनसम्बन्धी निर्धारित मापदण्ड पूरा गर्न सकेन। त्यसका कारण पशुपन्छी श्रोत केन्द्रसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न नसकिएको हो।

ठूलो बजेट रहेको प्रमुख कार्यक्रम सञ्चालन हुन नसक्दा कार्यालयको समग्र वित्तीय प्रगति प्रभावित भएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button