दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारी तयारी

ड्रागन मिडिया समाचार कक्ष
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यले आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।
यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ।
आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गर्ने योजना छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीका कामलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ।
कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा वितरण गरिने अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने तयारी गरेको छ।
समझदारीपत्र कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिदलाई मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच नियमित तथा संस्थागत प्रणालीमार्फत अघि बढाइनेछ। मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच अत्यावश्यक औषधि तथा औषधिजन्य सामग्री खरिदसम्बन्धी समझदारीको संस्थागत आधार यसअघि नै तयार गरिएको छ।
यस व्यवस्थाबाट सरकारी औषधि खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यो पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता वृद्धि, आयातमाथिको निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्याउनेछ।





