कार्यालय समयमै मादक पदार्थ सेवन गर्ने कर्मचारीसहित पाँच जना पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
सरकारी कार्यालयभित्र कार्यालय समयमै मादक पदार्थ सेवन गरिरहेको अवस्थामा कर्मचारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार दिउँसो भूमि प्रशासन कार्यालयभित्र मादक पदार्थ सेवन भइरहेको देखेपछि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेका थिए।
सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकाल र प्रहरी निरीक्षकसहितको टोली कार्यालयमा पुगेको थियो। टोलीले पाँचै जनालाई मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारेको जनाइएको छ।
पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालयका खरिदार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का युवराज आचार्य, सवारी चालक बर्दियाको बारबर्दिया नगरपालिका–७ का गुलबहादुर चौधरी र गुलरिया नगरपालिकास्थित भू–सेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका–६ का सन्तोष राना छन्।
त्यसैगरी, लेखनदास गुलरिया नगरपालिका–४ की दिलमाया डाँगी र सुभा थारूलाई पनि कार्यालयबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।
उनका अनुसार पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पनि कार्यालयभित्र मादक पदार्थ सेवन गरिरहेका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको पुष्टि गरे।
घटनाबारे प्रतिक्रिया लिन भूमि प्रशासन कार्यालयका प्रमुख शेरबहादुर थापा र सूचना अधिकारी दीपेन्द्रकुमार बिसीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनीहरू सम्पर्कमा आउन सकेनन्।





