२ श्रावण २०८३, शनिबार

‘एआई एक देशको एकल प्रस्तुति होइन, अन्तर्राष्ट्रिय सहकार्यको सामूहिक संगीत हुनुपर्छ’ : सी चिनफिङ


ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास कुनै एक देशको एकल प्रयास वा एकाधिकारको विषय नभई अन्तर्राष्ट्रिय सहकार्यमा आधारित साझा अभियान हुनुपर्ने बताएका छन्।

शाङहाईमा शुक्रबार आयोजित सन् २०२६ को विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन तथा विश्वव्यापी एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले एआईले सिर्जना गरेका अवसरको सदुपयोग र चुनौतीको सामना गर्न सबै देशबीच खुलापन, सहकार्य र साझा जिम्मेवारी आवश्यक रहेको बताए।

“एआई विकास कुनै एक देशको एकल प्रस्तुति होइन, अन्तर्राष्ट्रिय सहकार्यको सामूहिक संगीत हुनुपर्छ,” उनले भने, “चीन थप खुला बन्न, व्यावहारिक कदम चाल्न र दूरदर्शी दृष्टिकोणका साथ सबै पक्षसँग सहकार्य गर्न तयार छ।”

मानव समाजका लागि अझ उज्ज्वल भविष्य निर्माण गर्न चीन सबै पक्षसँग मिलेर एआई विकासका अवसर उपयोग गर्न तथा त्यसबाट उत्पन्न जोखिम र चुनौती सामना गर्न तयार रहेको उनले बताए।

राष्ट्रपति सीले एआईको विकास र शासनसम्बन्धी चार प्रमुख प्रस्ताव प्रस्तुत गरे। पहिलो प्रस्तावमा उनले नवप्रवर्तनमा आधारित विकासलाई गति दिँदै खुलापन र पारस्परिक लाभको सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिए।

एआई प्रविधि, औद्योगिक विकास र व्यावहारिक प्रयोग विस्तारका लागि खुला श्रोत प्रविधि, सहकार्य, साझेदारी र ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो। प्रविधिमाथि नियन्त्रण कायम गर्ने वा बजारलाई पृथक बनाउने प्रयासले विश्वव्यापी एआई विकासमा अवरोध सिर्जना गर्ने उनले संकेत गरे।

दोस्रो प्रस्तावमा राष्ट्रपति सीले जोखिमप्रतिको चेतना बढाउँदै एआईलाई सुरक्षित, विश्वसनीय र नियन्त्रणयोग्य बनाउनुपर्ने बताए। एआई सधैँ मानव नियन्त्रणमा रहनुपर्ने उल्लेख गर्दै उनले सम्भावित जोखिमको पहिचान, पूर्वसूचना र आपत्कालीन प्रतिक्रिया प्रणाली विकास गर्न आग्रह गरे।

उनले एआईका नाममा राष्ट्रिय सुरक्षाको अवधारणालाई अनावश्यक रूपमा विस्तार गर्ने तथा एउटा देशको सुरक्षालाई अरू देशको सुरक्षाभन्दा माथि राख्ने प्रवृत्तिको संयुक्त रूपमा विरोध गर्नुपर्ने बताए।

तेस्रो प्रस्तावमा उनले समावेशिता र सभ्यताहरूबीचको पारस्परिक सिकाइलाई प्रवर्द्धन गर्नुपर्ने बताए। एआईको विकास र प्रयोगले विश्वका सभ्यता, संस्कृति र सामाजिक मूल्यको विविधतालाई कमजोर पार्न नहुने उनको भनाइ थियो।

प्रविधि प्रत्येक देशको सामाजिक अवस्था, सांस्कृतिक विशेषता र विकास आवश्यकताअनुसार उपयोग गर्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

चौथो प्रस्तावमा राष्ट्रपति सीले एकता र सहकार्यका माध्यमबाट विश्वव्यापी एआई शासन प्रणाली सुधार गर्नुपर्ने बताए। उनले एआईसम्बन्धी विकास रणनीति, शासनका नियम र प्राविधिक मापदण्डमा समन्वय गर्न संयुक्त राष्ट्रको महत्त्वपूर्ण भूमिका स्वीकार गर्नुपर्ने धारणा राखे।

विश्वव्यापी एआई शासन केही शक्तिशाली देश वा ठूला प्रविधि कम्पनीको नियन्त्रणमा सीमित हुन नहुने उल्लेख गर्दै उनले विकासशील देशको समान सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।

“हामीले व्यापक अन्तर्राष्ट्रिय सहकार्य गर्दै विश्व दक्षिणका देशको क्षमता विकासमा सहयोग गर्नुपर्छ,” राष्ट्रपति सीले भने, “एआई तथा डिजिटल विभाजन घटाउँदै दिगो विकासलाई प्रवर्द्धन गर्न र एआईका कारण नयाँ ऐतिहासिक अन्याय सिर्जना हुन नदिनुपर्छ।”

चीनले आगामी पाँच वर्षमा विकासशील देशका लागि एआईसम्बन्धी तालिम र गोष्ठीमा पाँच हजार अवसर उपलब्ध गराउने घोषणा गरेको छ।

चीनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान), अरब लिग, अफ्रिकी संघ, ल्याटिन अमेरिकी तथा क्यारेबियाली राष्ट्रहरूको समुदाय, शाङहाई सहयोग संगठन र ब्रिक्ससँग अन्तर्राष्ट्रिय एआई प्रयोग सहकार्य केन्द्र स्थापना गर्ने राष्ट्रपति सीले बताए।

चीनले एआईमा आधारित ‘माजु’ मौसम पूर्वसूचना प्रणाली प्रयोग गर्न ३० देशलाई सहयोग गर्नेछ। जलवायुजन्य विपदको जोखिम घटाउन तथा नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न यो प्रणाली उपयोग गरिने जनाइएको छ।

सम्मेलनको एक दिनअघि शाङहाईमा विश्व कृत्रिम बुद्धिमत्ता सहयोग संगठन स्थापना गर्ने सम्झौतामा २९ देश सहभागी भएका थिए। शाङहाईमा मुख्यालय रहने प्रस्तावित अन्तरसरकारी संगठनले संयुक्त राष्ट्र बडापत्रका उद्देश्य पालना गर्दै परामर्श, साझा योगदान र पारस्परिक लाभका आधारमा एआई सहकार्य अघि बढाउने जनाएको छ।

राष्ट्रपति सीले उक्त संगठनको स्थापना विश्वव्यापी एआई विकासमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले एआई शासनमा अर्थपूर्ण सहभागिताका लागि विश्व दक्षिणका देशले व्यक्त गर्दै आएको मागलाई सम्बोधन गर्ने बताए।

चीनले एआई प्रविधि कुनै सीमित देश वा समूहको विशेषाधिकार बन्न नहुने र यसको लाभ सम्पूर्ण मानव समुदायसम्म पुग्नुपर्ने नीति अघि सारेको छ। चिनियाँ पक्षका अनुसार खुला श्रोत प्रविधि, कम लागतका एआई मोडल र अन्तर्राष्ट्रिय क्षमता विकासका कार्यक्रमले विकासशील देशलाई डिजिटल युगमा प्रवेश गर्न सहयोग पुर्‍याउनेछन्।

सन् २०१८ मा शुरु भएको विश्व एआई सम्मेलनको यो आठौँ संस्करण हो। जुलाई १७ देखि २० सम्म सञ्चालन हुने सम्मेलनको मुख्य विषय ‘उज्ज्वल भविष्यका लागि एआई साझेदारी’ राखिएको छ।

यस वर्ष प्रदर्शनी क्षेत्र पहिलोपटक एक लाख वर्गमिटरभन्दा ठूलो बनाइएको छ। सम्मेलनमा एक हजार एक सयभन्दा बढी कम्पनी सहभागी भएका छन् भने तीन हजारभन्दा बढी उत्पादन र प्रविधि प्रदर्शन गरिएका छन्। तीमध्ये तीन सयभन्दा बढी उत्पादन विश्व बजारमा पहिलोपटक सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रदर्शनीमा हुवावेको एटलस–९५० एआई कम्प्युटिङ प्रणाली, मिनिम्याक्सको एम–३ बहुमाध्यमीय आधारभूत मोडल, एआई एजेन्टयुक्त मोबाइल फोन, मानव आकारका रोबोट तथा सूक्ष्म काम गर्न सक्ने एआईमा आधारित रोबोटिक हातलगायत प्रविधि समावेश छन्।

सम्मेलनमा राष्ट्रपति सीले प्रस्तुत गरेको अवधारणाले एआई विकासलाई प्रविधिगत प्रतिस्पर्धामा मात्र सीमित नराखी विश्वव्यापी शासन, विकासको समान अवसर, सुरक्षा तथा विश्व दक्षिणको क्षमता अभिवृद्धिसँग जोडेको छ।

उनको सम्बोधनले चीन खुला श्रोत प्रविधि, बहुपक्षीय सहकार्य र संयुक्त राष्ट्र केन्द्रित शासन प्रणालीका माध्यमबाट विश्वव्यापी एआई नीति र मापदण्ड निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न चाहेको स्पष्ट गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button