शाङहाई एआई सम्मेलनमा सी चिनफिङको सक्रिय कूटनीति, थाइल्यान्ड–कम्बोडिया विवाद समाधान र संयुक्त राष्ट्र केन्द्रित शासनमा जोड

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलनका अवसरमा थाइल्यान्ड र कम्बोडियाका प्रधानमन्त्री तथा संयुक्त राष्ट्रका महासचिवसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गरेका छन्।
शाङहाईमा शुक्रबार आयोजित सन २०२६ को विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन तथा विश्वव्यापी एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकका क्रममा सीले थाइल्यान्डका प्रधानमन्त्री आनुतिन चार्नविराकुल, कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका हुन्। यी बैठकसँगै सम्मेलन एआई प्रविधि र औद्योगिक उपलब्धिको प्रदर्शनीमा मात्र सीमित नभई द्विपक्षीय सम्बन्ध, क्षेत्रीय शान्ति र विश्वव्यापी शासनसम्बन्धी कूटनीतिक समन्वयको मञ्चसमेत बनेको छ।
थाइल्यान्डका प्रधानमन्त्री आनुतिनसँगको भेटमा सीले चीनले आफ्नो छिमेक कूटनीतिमा चीन–थाइल्यान्ड सम्बन्धलाई महत्त्वपूर्ण स्थान दिएको बताउँदै थाइल्यान्डका लागि चीन भरपर्दो र विश्वासयोग्य रणनीतिक साझेदार रहेको उल्लेख गरे।
उनले दुवै देशलाई आ–आफ्नो आधुनिकीकरण प्रक्रिया अघि बढाउन र क्षेत्रीय शान्ति, स्थायित्व तथा समृद्धिमा योगदान पुर्याउन थप स्थिर, समृद्ध र दिगो साझा भविष्ययुक्त चीन–थाइल्यान्ड समुदाय निर्माण तीव्र बनाउन आग्रह गरे।
सीले चीन–थाइल्यान्ड रेलमार्ग र चीन, लाओस तथा थाइल्यान्डबीचको रेल सम्पर्क निर्माणलाई गति दिनुपर्ने बताए। उनले व्यापार, लगानी र सम्पर्क सञ्जालजस्ता परम्परागत क्षेत्रसँगै कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष प्रविधि र स्वच्छ ऊर्जाजस्ता उदीयमान क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
दुई देशले अनलाइन जुवा, दूरसञ्चार ठगीलगायत सीमापार अपराधविरुद्ध संयुक्त कारवाही थप प्रभावकारी बनाउनुपर्ने सीको भनाइ थियो। यसबाट व्यावहारिक सहयोग र नागरिकस्तरीय आदानप्रदानका लागि सुरक्षित वातावरण निर्माण हुने उनले बताए।
सीले थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद शान्तिपूर्ण संवाद र परामर्शबाट समाधान गर्नुपर्ने बताए। विवादको उचित व्यवस्थापन दुवै देश र जनताको साझा तथा दीर्घकालीन हितमा रहेको उल्लेख गर्दै उनले आवश्यक परे चीनले रचनात्मक भूमिका निरन्तर निर्वाह गर्ने स्पष्ट पारे।
प्रधानमन्त्री आनुतिनले थाइल्यान्ड चीनसँग उच्चस्तरीय सम्पर्क कायम गर्दै व्यापार, लगानी, उच्च प्रविधि, सम्पर्क सञ्जाल र विश्वव्यापी एआई शासनमा सहकार्य विस्तार गर्न तयार रहेको बताए। उनले थाइल्यान्ड–कम्बोडिया विवादको शान्तिपूर्ण समाधानमा चीनले निर्वाह गरेको निष्पक्ष भूमिकाको प्रशंसा गरेका छन्।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेतसँगको भेटमा राष्ट्रपति सीले दुई देशका पुराना पुस्ताका नेताले निर्माण गरेको ‘फलामे मित्रता’लाई निरन्तरता दिन आग्रह गरे। उनले ‘डायमन्ड हेक्सागन’ सहकार्य संरचनालाई थप समृद्ध बनाउँदै नयाँ युगमा सबै मौसममा कायम रहने चीन–कम्बोडिया साझा भविष्ययुक्त समुदायलाई उच्च स्तरमा पुर्याउनुपर्ने बताए।
सीले चीन र कम्बोडियाबीच औद्योगिक विकास करिडोर तथा ‘माछा र चामल करिडोर’ निर्माणलाई गति दिनुपर्ने बताए। विद्युत र कृषिजस्ता परम्परागत क्षेत्रको स्तरोन्नति गर्नुका साथै एआई र डिजिटल अर्थतन्त्रसहित नयाँ उद्योग विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
उनले नक्कली वस्तुको कारोबार, तस्करी, अनलाइन जुवा र दूरसञ्चार ठगीलगायत सीमापार अपराधविरुद्ध संयुक्त कारवाही गर्न आग्रह गरे।
थाइल्यान्ड र कम्बोडियाबीचको युद्धविरामलाई सुदृढ बनाउँदै क्रमशः पारस्परिक विश्वास निर्माण गर्नु दुवै देशको आधारभूत र दीर्घकालीन हितमा रहेको सीले बताए। चीनले संवाद र वार्ताबाट समाधान खोज्ने दुवै देशको प्रयासलाई समर्थन गर्ने र आवश्यक सहयोग जारी राख्ने उनको भनाइ थियो।
प्रधानमन्त्री हुन मानेतले कम्बोडियाको आर्थिक तथा सामाजिक विकासमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भए पनि चीनसँग निकट मैत्रीपूर्ण सहकार्य गर्ने कम्बोडियाको नीति परिवर्तन नहुने बताए। उनले सीमा विवाद समाधानका लागि शान्तिपूर्ण संवाद जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सीले चीनले संयुक्त राष्ट्र र बहुपक्षीय व्यवस्थालाई दृढ समर्थन गर्दै आएको बताए। जनवादी गणतन्त्र चीनले संयुक्त राष्ट्रमा आफ्नो वैधानिक स्थान पुनःप्राप्त गरेको ५५ वर्ष पूरा भएको उल्लेख गर्दै उनले चीन विश्व शान्ति निर्माण, विश्वव्यापी विकास, अन्तर्राष्ट्रिय व्यवस्था र संयुक्त राष्ट्रको अधिकार रक्षामा प्रतिबद्ध रहेको बताए।
सीले वर्तमान विश्वमा परिवर्तन र अस्थिरता बढिरहेकाले वास्तविक बहुपक्षवाद अभ्यास गर्दै संयुक्त राष्ट्रको स्थान र भूमिकालाई पुनः सशक्त बनाउनुपर्ने बताए। सबै देशको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा वैधानिक अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले विश्वलाई पुनः ‘जङ्गलको कानुन’तर्फ फर्कन दिन नहुने धारणा राखे।
उनले दोस्रो विश्वयुद्धपछि स्थापना भएका अन्तर्राष्ट्रिय प्रणाली र नियमको रक्षा गर्दै समयअनुकूल संयुक्त राष्ट्रको सुधार र सुदृढीकरण गर्नुपर्ने बताए। ठूला देशहरूले थप जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो।
महासचिव गुटेरेसले बहुपक्षवाद, संयुक्त राष्ट्रको कार्य र अन्तर्राष्ट्रिय सहकार्यमा चीनको समर्थनको प्रशंसा गरे। संयुक्त राष्ट्रले चीनसँगको सहकार्य थप सुदृढ गर्दै एकपक्षीयता, संरक्षणवाद र प्रभुत्ववादी दबाबको विरोध गर्ने तथा संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्ने उनले बताए।
सम्मेलन शुरु हुनुभन्दा एक दिनअघि शाङहाईमा २९ देशले विश्व कृत्रिम बुद्धिमत्ता सहयोग संगठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। शाङहाईमा मुख्यालय रहने उक्त स्वतन्त्र अन्तरसरकारी संगठनले एआईलाई लाभदायक, सुरक्षित र निष्पक्ष बनाउँदै अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वव्यापी शासनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
राष्ट्रपति सीले आगामी पाँच वर्षमा विकासशील देशलाई एआईसम्बन्धी तालिम र गोष्ठीमा पाँच हजार अवसर प्रदान गर्ने घोषणा पनि गरेका छन्। चीनले आसियान, अरब लिग, अफ्रिकी संघ, ल्याटिन अमेरिकी तथा क्यारेबियाली राष्ट्रहरूको समुदाय, शाङहाई सहयोग संगठन र ब्रिक्ससँग अन्तर्राष्ट्रिय एआई प्रयोग सहकार्य केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।
शाङहाईमा भएका यी उच्चस्तरीय भेटवार्ताले चीनले प्रविधिगत नवप्रवर्तनलाई द्विपक्षीय कूटनीति, दक्षिणपूर्वी एसियाको क्षेत्रीय स्थायित्व र संयुक्त राष्ट्र केन्द्रित विश्वव्यापी शासनसँग जोडेर अघि बढाउन खोजेको देखाएको छ।





