चेक प्रतिनिधिसभाका सभामुख ओकामुरा चीन भ्रमणमा जाने

ड्रागन मिडिया समाचार कक्ष
चेक गणतन्त्रको प्रतिनिधिसभाका सभामुख टोमियो ओकामुरा जुलाई २० देखि २४ सम्म चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लचीको निमन्त्रणामा ओकामुराले संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा दुई देशबीच संसदीय सम्पर्क, राजनीतिक संवाद, व्यापार तथा लगानी सहकार्य विस्तारबारे छलफल हुने अपेक्षा गरिएको छ। ओकामुरासँग करिब ४० चेक कम्पनीका प्रतिनिधि पनि चीन जाने तयारीमा छन्। उनीहरूले चिनियाँ पक्षसँग प्रत्यक्ष हवाई सम्पर्क, भिसा सहजीकरण, पर्यटन र व्यावसायिक सम्झौताका विषयमा छलफल गर्ने बताएका छन्।
चेक पक्षका अनुसार प्रतिनिधिमण्डलको समग्र यात्रा जुलाई १९ देखि २५ सम्म रहने भए पनि चीनले घोषणा गरेको औपचारिक भ्रमण अवधि जुलाई २० देखि २४ सम्म हो। प्रतिनिधिमण्डलले बेइजिङसहित चीनका प्रमुख आर्थिक तथा औद्योगिक शहरको भ्रमण गर्ने तयारी गरेको छ।
यो भ्रमणलाई केही वर्षयता राजनीतिक तनाव र सीमित उच्चस्तरीय सम्पर्कपछि चीन–चेक सम्बन्धमा संवाद तथा व्यावहारिक आर्थिक सहकार्य पुनःविस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।





