२ श्रावण २०८३, शनिबार

सञ्चालनको तयारीमा नागढुङ्गा सुरुङमार्ग, ‘टनेल रन एन्ड वाक’ आयोजना

ड्रागन मिडिया समाचार कक्ष

नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा यसको उपयोग र महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले शनिबार ‘नागढुङ्गा टनेल रन एन्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ।

सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग—जाइका नेपालको आयोजनामा भएको कार्यक्रममा सर्वसाधारणको सहभागिता थियो। आयोजना निर्देशक सौजन्य नेपालले सुरुङमार्गको संरचना, प्रयोग र सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए।

काठमाडौंको नागढुङ्गा र धादिङको सिस्नेखोला जोड्ने मुख्य सुरुङ दुई हजार ६८८ मिटर लामो छ। परियोजनामा आपत्कालीन उद्धारका लागि दुई हजार ५५७ मिटर लामो छुट्टै सुरुङ र निश्चित दूरीमा मुख्य सुरुङसँग जोडिने मार्गसमेत निर्माण गरिएको छ।

आयोजना शुरुमा अप्रिल २६, २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्माणमा आएको ढिलाइ, स्थानीय समस्या र सञ्चालनसम्बन्धी प्राविधिक तथा व्यवस्थापकीय तयारीका कारण समयसीमा पटकपटक प्रभावित भएको छ। पछिल्लो चरणमा आयोजना लगभग पूरा भए पनि सञ्चालनका लागि आवश्यक सेवा प्रदायक तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया बाँकी रहेको विवरण सार्वजनिक भएको थियो।

आयोजना निर्देशक नेपालका अनुसार सुरुङमार्ग साउनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सञ्चालनपछि काठमाडौं प्रवेश गर्ने र बाहिरिने नागढुङ्गा–नौबिसे सडकखण्डको जाम घट्नुका साथै यात्रा समय छोटिने अपेक्षा गरिएको छ। सुरुङ निर्माणको मूल उद्देश्यसमेत नागढुङ्गा क्षेत्रको सडक अवस्था सुधार गरी काठमाडौं र देशका अन्य भागबीच यातायात सहज बनाउनु हो।

आयोजना कार्यालयका अनुसार नागढुङ्गा–नौबिसे नाका हुँदै दुई पाङ्ग्रे सवारीसाधनबाहेक दैनिक आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने अनुमान छ। दुई पाङ्ग्रे सवारीसाधनलाई भने सुरुङ प्रयोग गर्न अनुमति दिइने छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button