२ श्रावण २०८३, शनिबार

गगन पक्षसँग सहमतिको सम्भावना सकिएको देउवा समूहको निष्कर्ष

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापा नेतृत्वको पक्षसँग सहमति हुने सम्भावना लगभग सकिएको निष्कर्ष निकालेको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा शुक्रबार इतर पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्काले बोलाएको समूहका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय भेला आयोजना गर्दै नयाँ राजनीतिक बाटोको तयारी अघि बढाउने निर्णय गरेको हो।

नेता मीनबहादुर विश्वकर्माका अनुसार बैठकमा बीपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठित समितिको काम, सङ्गठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल भएको थियो।

बैठकले पार्टी एकताको सम्भावना लगभग सकिएको निष्कर्षसहित साउन २४ देखि २९ गतेबीच राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको विश्वकर्माले जानकारी दिए।

सभापति थापा नेतृत्वको पक्षसँग मिल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, “मिल्ने लक्षण अब ९९ प्रतिशत देखिन्न।”

विश्वकर्माले सहमतिका लागि आफूहरूले प्रयास गरे पनि संस्थापन पक्षबाट वार्ताको ठोस पहल नभएको आरोप लगाए।

“हामी त बाहिर छौँ, के गर्न सक्छौँ र? हामीले मिलाऊँ भन्ने नै हो,” उनले भने, “उहाँहरू आउनुहुन्छ, भनेका कुरा सबै गर्छु भन्नुहुन्छ, भोलि आउँछु भन्नुहुन्छ, तर भोलिपल्ट आउनुहुन्न। महिनौँसम्म आउनुहुन्न।”

उनले संस्थापन पक्षलाई नै मिल्न मन नभएको हुन सक्ने जिकिर गर्दै अब वैकल्पिक राजनीतिक बाटोका लागि आवश्यक तयारी अघि बढाइने बताए।

नयाँ बाटोका लागि नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, दर्शन, साङ्गठनिक संरचना, वैधानिक तथा कानुनी व्यवस्था र पार्टी सञ्चालनको विधिबारे छलफल गरिने उनको भनाइ छ।

नयाँ पार्टीको सम्भावित नेतृत्वबारे सोधिएको प्रश्नमा विश्वकर्माले सबै विषयलाई एउटै प्याकेजमा तयारी गरिने बताए। पार्टीको नाम, चुनाव चिन्ह, नेतृत्व र साङ्गठनिक संरचनाबारे क्रमशः छलफल अघि बढ्ने उनले जानकारी दिए।

“नयाँ बाटो जाने कुरा भइहाल्यो,” उनले भने, “त्यसका लागि नीति, नेतृत्व, साङ्गठनिक संरचना तथा वैधानिक र कानुनी व्यवस्थासहित सम्पूर्ण तयारी अघि बढ्छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button